अलपत्र तार व्यवस्थापन गर्न ‘पोल भाडा’ वृद्धि, इन्टरनटको शूल्क बढाउन प्रस्ताव
वि.सं.२०७८ असोज १२ मंगलवार १८:३१
काठमाडौँ : नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले शहरी क्षेत्रका अलपत्र तारहरु व्यवस्थित गर्नका ‘पोल भाडा’ बढाइएको बताएका छन् ।
मंगलबार तराई विकास तथा सञ्चार केन्द्र नेपालले काठमाडौँमा आयोजना गरेको ‘नेपालमा सूचना प्रविधि प्रयोगको अवस्था र चूनौती’ विषयक छलफलमा घिसिङले विद्युतका पोलले धान्नै नसक्ने गरी इन्टरनेटका तारहरु राखिएकाले व्यवस्थित गर्न पोल प्रयोगको भाडा बढाइएको जानकारी दिए ।
उनले इन्टरनेट सेवा प्रदायकमार्फत यसअघि प्राधिकरणले २५ करोड उठाउँदै आएकोमा अब बढेर ५० करोड पुर्याइएको बताए ।
अहिले पोलमा रहेका ९५ प्रतिशत तारहरु कामनलाग्ने अवस्थामा रहेको र त्यसलाई निकाल्न इन्टरनेट सेवा प्रदायकले कुनै चासो नदेखाएको समेत बताए ।
कार्यक्रममा इन्टरनेट सेवा प्रदायकका अध्यक्ष सुधिर पराजुलीले प्राधिकरणले ग्राहकका आधारमा नाफा कमाउन पोल प्रयोगको भाडा बढाएको आरोप लगाए । उनले यसअघि पोलको भाडा २०५ रुपैयाँ लिइने गरेकोमा अहिले प्रति पोल र प्रतिकिलोमिटरका आधारमा ७५० रुपैया तिर्नुपर्ने अवस्था आएको गुनासो गरे ।
पोल भाडा बढाएसँगै शहरी क्षेत्रमा इन्टरनेट सेवाको मासिक १५० र ग्रामिण क्षेत्रमा ३०० रुपैयाँ बढाउन आफूहरुले प्रस्ताव गरेको उनको भनाइ छ । यसअघि प्राधिकरणले विद्युत् पोल र ओपीजीडब्ल्यु केबलको भाडादर बढाउने निर्णय गरेको थियो ।
त्यस्तै कार्यक्रमका सहभागीहरुले नेपालमा सूचना प्रविधि प्रयोग बढ्दै जाँदा गुणस्तरमा पनि ध्यान दिनुपर्ने बताए ।
वि.सं.२०७८ असोज १२ मंगलवार १८:३१