विद्यालय कर्मचारीको समस्या

243 shares

सामुदायिक विद्यालय बन्दको नेपाल विद्यालय कर्मचारी परिषदले आह्वान गरेको छ । त्यसको प्रभाव बारामा पनि परेको छ । प्रायः सबै सामुदायिक विद्यालयहरु बन्द भएका थिए । यसैबीच नेपाल राष्ट्रिय शिक्षक संगठनले एक विज्ञप्ति जारी गरी कर्मचारीहरुको अन्दोलनमा एक्यवद्धता जनाएपछि विद्यालय बन्द भएका छन् ।

सेवा सुविधामा विभेद भएको भन्दै विद्यालय कर्मचारीहरु आन्दोलित भएका हुन् । विद्यालय कर्मचारी परिषद्को नेतृत्वमा जारी आन्दोलनले थप आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ ।

सरकारले पटक–पटक जनाएको प्रतिबद्धता कार्यान्वयन नगरेकाले शिक्षक र कर्मचारीहरु गर या मरको स्थितिमा पुगेको परिषदले जनाएको छ । शिक्षा मन्त्रालयले पनि उनीहरुका माग नोटिसमा रहेको र माग कसरी सम्बोधन गर्ने भनेर छलफल गरिरहेको जनाएको छ ।
उनीहरुले विद्यालय कर्मचारी सहायक (लेखापाल) हरुका लागि ३६ हजार ७३० रुपैयाँ, विद्यालय सहयोगीहरुका लागि २६ हजार २१० रुपैयाँको तलब ग्यारेन्टी गर्नुपर्ने, सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुलाई दरबन्दीमा समायोजन गरी स्थायी बनाउनुपर्ने लगायतका माग राखेका छन् ।

त्यसैगरी संघीय शिक्षा ऐन जारी हुँदाका बखतसम्म अविछिन्न कार्यरत विद्यालय कर्मचारीहरुलाई एक पटकका लागि उमेर हद नलाग्ने प्रबन्ध गर्नुपर्ने, ६० वर्ष उमेर पुगेका विद्यालय कर्मचारीहरुलाई प्रचलित कानुन बमोजिम शिक्षक सरहको सेवा सुविधा उपलब्ध गराई ससम्मान अवकाशको व्यवस्था गर्नुपर्ने लगायतको माग पनि उनीहरुले राखेका छन् ।

देशभर विभिन्न तहका २९ हजार ३५ सामुदायिक विद्यालय सञ्चालित छन् । यी विद्यालयहरुमा सेवारत करिब ४० हजार विद्यालय कर्मचारी रहेको परिषदको भनाइ छ । यो सहित निजी स्रोतमा खटिनेहरु पनि छ । बालबालिकाको भविष्य कोर्न खटिने संस्थामा यो अवस्थाको अन्त्य हुन जरुरी छ । सरकारले यसलाई शिघ्र सम्बोधन गरोस् ।