विज्ञ समुहको प्रतिदेनको सकारात्मक सन्देश

234 shares

बाराको निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन बाटो खोल्ने गरि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्बन्धमा सरकारले गठन गरेको विज्ञ समूहले आईतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ ।

पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थल निर्माण जति ढिला भयो, उति महँगो र जटिल हुँदै जाने र नेपालको विकासको प्रतिफल ढिलो हुँदै जाने हुँदा विशेष अधिकार सम्पन्न विकास संस्था गठन गरी यसलाई समयबद्ध तबरले छिटो निर्माण गर्नुपर्ने सुझाव समेत विज्ञ समूहले दिएको छ ।
केहि महिनाअघि प्रधानमन्त्री देउवाको नेतृत्वमा सत्ता गठबन्धनका शिर्ष नेताको टोलीले विमानस्थल क्षेत्रको स्थलगत निरीक्षण गरेको थियो । त्यहाँ पुगेर प्रधानमन्त्री देउवाले दुई लेनको विमानस्थल बनाउन निर्देशन समेत दिएका थिए ।

निजगढमै अन्तर्राष्ट्रिय विमानस्थल उपयुक्त हुने विज्ञ समूहको निष्कर्ष सहितको प्रतिवेदन सार्वजनिक भएपछि सरोकारवाला उत्साहित देखिएका छन् ।

प्रतिवेदनले सरकारलाई काम अघि बढाउन बाटो खोलेकाले विमानस्थल बन्नेमा थप आशावादी बनाएको छ । अब सरकारसंग त्यहाँका जनताको व्यवस्थापन गरेर निर्माण कार्य अघि बढाउन ढिलो गर्नुहुन्न । सर्वोच्च अदालतको फैसलाअनुसार पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रिपरिषद्को गत साउन २६ गतेको निर्णयानुसार गठित विज्ञ समूहले अध्ययन प्रतिवेदन तयार गरेको हो ।

नेपालको दूरगामी विकास तथा आर्थिक समृद्धिको लागि बढ्दो हवाई ट्राफिक धान्न सक्ने पूर्ण क्षमताको अन्तर्राष्ट्रिय विमानस्थल आवश्यक रहेको विज्ञ समूहको निष्कर्ष छ । प्रतिवेदनअनुसार पूर्ण क्षमताको अन्तराष्ट्रिय विमानस्थलका लागि उपयुक्त स्थान काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक) र पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको पसाहा नदी र बकैया नदी बीचको करिब ९ हजार हेक्टर क्षेत्रफल भित्रको करिब ४ हजार हेक्टर क्षेत्र उपयुक्त रहेको छ । यसरी प्रतिवेदनका आधारमा सरकारले काम अघि बढाउन आवश्यक देखिन्छ ।