ब्याङ्क्वेटमा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु, बाहिर पत्रकारकाे कुटाकुट (भिडियाे)
वि.सं.२०७८ चैत ९ बुधवार १३:५१

काठमाडाैं । नेकपा एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बैठक सुरु भएको हो । दुई दिन चल्ने बैठकका लागि यसअघि नै एजेण्डा तय भइसकेको छ। जसअनुसार केन्द्रीय कमिटीका लागि पार्टी कामको रिपोर्टिङ, समसामयिक राजनीतिक प्रतिवेदन, विभागहरूलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय निर्णयको अनुमोदनलगायत एजेण्डा तय गरिएको छ ।
गत चैत ७ को बैठकले सो एजेण्डा तय गरेको हो । सो बैठकमा अध्यक्ष केपी ओलीले आफू नेतृत्वको वामपन्थी सरकारलाई ढालेर नेपाली काँग्रेससँग गठबन्धन गर्न जानेहरूसँग वाम एकता वा तालमेल नहुने स्पष्ट पार्दै एमालेमा प्रवेशका लागि भने अन्य दलका कार्यकर्तालाई ढोका खुल्ला रहेको बताएका थिए । बैठकमा वाम एकता र तालमेलबारे बहस भएको थियो ।
सोही अनुसार एमालेले आन्तरिक तयारी थालिसकेको छ। साथै बैठक स्थलबाहिर पत्रकारबीच कुटाकुट भएको छ। आजदेखि सुरु भएको एमाले केन्द्रीय कमिटीको बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारबीच कुटाकुट भएको हो।
बाह्रखरी मिडियाका पत्रकार र हिमालय टेलिभिजनका पत्रकारबीच हानाहान भएको हो। उनीहरुलाई प्रहरीको सहायतामा छुट्याइएको छ।
वि.सं.२०७८ चैत ९ बुधवार १३:५१
















