संवाद : बृहत् वामपन्थी एकताको विषय अगाडि सारेका छौं : महासचिव डा. बेदुराम भुसाल

वि.सं.२०७९ माघ २६ बिहीवार १५:५६

नयाँ गठबन्धनसँगै रोकिएको वाम–समाजवादी सहकार्यको प्रयास फेरि अघि बढेको छ । सहकार्य र राजनीतिक स्थिरताको विषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच पुनः छलफल सुरु भएको छ । माओवादी र एकीकृत समाजवादीबीच पार्टी एकताका लागि धेरै विषयमा समानता रहेको नेताहरूले दाबी गरेका छन् । एउटै कमिटीमा रहेर काम गरिसकेकाले केही प्राविधिकबाहेक अन्य विषयमा समस्या नहुने नेताहरू दाबी गर्छन् । तर, नेताहरूको व्यवस्थापनमा केही समस्या हुन सक्ने नेताहरू बताउँछन् । नाममा कम्युनिस्ट पार्टी राख्न जसपा तयार भइनसकेकाले ऊसँग भने तत्काल मोर्चाबन्दीको मात्रै सम्भावना छ । माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा, एकीकृत समाजवादीले महासचिव डा. बेदुराम भुसालको संयोजकत्वमा कार्यदल बनेको छ । यसैसन्दर्भमा संयोजक भुसालसंग गरिएको कुराकानी :
पार्टी एकता र समाजवादी मोर्चा निर्माणको विषय कहाँ पुग्यो ?
हामीले नेकपा (एकीकृत समाजवादी) गठन गर्दा नै बृहत् वामपन्थी एकताको विषय अगाडि सारेका हौँ । त्यस क्रममा विभिन्न पार्टी, समूह र व्यक्तिसँग एकता र सहकार्यका विषयमा छलफल भइरहेका छन् । एकीकृत समाजवादीसँग विभिन्न पार्टी र समूह एकत्रित पनि भएका छन् । हामीले कार्यदल नै बनाएर एकता र कार्यगत एकताको विषयमा काम गरिरहेका छौँ ।
माओवादी र जसपासँगको एकता प्रक्रियाचाहिँ कहाँ पुग्यो ?
माओवादीसँग हाम्रो थेरै कुरा मिल्छ । अब कसरी जाने भन्ने विषयमा धारणा एकीकृत गर्नुपर्ने अवस्था छ । पहिला पनि हामी एकै ठाउँमा थियौँ । तर, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई अदालतले भंग गरिदियो । केपी ओलीहरू पूर्वएमालेमा फर्किनुभयो र प्रचण्ड माओवादीमा ।
हामी नेकपाकालीन विचारलाई समेटेर बस्यौँ । त्यही स्पिरिटमा हामी अगाडि बढिरहेका छौँ । यसमा हाम्रो र उहाँहरूको बुझाइ फरक हुन सक्छ । नेकपाकै जगमा अगाडि बढ्न सकिन्छ भन्ने हाम्रो मान्यता छ । पार्टीको नाम र चुनाव चिह्नलगायत विषय बाँकी नै छन् । जसपासँग भने उहाँहरूले नेकपा स्वीकार गरिसकेको अवस्था नभएकाले एकताभन्दा कार्यगत एकताको सम्भावना बढी देखिन्छ ।
एमालेसँग एकताको सम्भावना छ कि छैन ?
एमालेसँग अहिले त्यस्तो सम्भावना देखिएको छैन । हामीले जुन विषय उठाएर विद्रोह गरेका हौँ, ती विषय एमालेले अहिले पनि सच्याएको छैन । त्यस्तो अवस्थामा एकताको सम्भावना कहाँ रहन्छ र ?
–नयाँ पत्रिकाबाट

वि.सं.२०७९ माघ २६ बिहीवार १५:५६