skip this

निजगढ नगर कांग्रेस सभापतिमा ज्ञानबहादुर गोलेको उम्मेदवारी घोषणा, यस्ता छन्– प्रतिबद्धता

संगठन सुदृढीकरणदेखि युवालाई अवसरसम्मका प्रतिबद्धता

30 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत निजगढ नगर कार्यसमितिको तेस्रो नगर अधिवेशनमा ज्ञानबहादुर गोलेले नगर सभापति पदमा उम्मेदवारी घोषणा गर्दै विभिन्न प्रतिबद्धता सार्वजनिक गरेका छन् ।

‘जनताको आवाज बनौँ, परिवर्तनका सहयात्री बनौँ’ भन्ने मूल भावसहित उम्मेदवारी प्रस्तुत गरेका गोलेले पार्टी संगठनलाई थप सुदृढ, व्यवस्थित, अनुशासित र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गोलेले आफ्नो प्रतिबद्धतामा पार्टी संगठन सुदृढीकरण तथा सक्रियता अभियान सञ्चालन गर्ने, पार्टी कार्यकर्ताको भावना, ज्ञान, मान र सम्मानलाई प्राथमिकता दिने तथा समावेशी लोकतन्त्र र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण गर्ने उल्लेख गरेका छन् ।

त्यस्तै, नयाँ पुस्ता तथा युवाको सहभागिता र न्यायोचित अवसर सुनिश्चित गर्ने, महिला सशक्तीकरण तथा सहभागितामा जोड दिने, नेतृत्व तथा क्षमता विकासका लागि प्रशिक्षण र अभिमुखीकरण सञ्चालन गर्ने तथा युवाका लागि रोजगारी र अवसर सिर्जनाका विषयमा पहल गर्ने उनको प्रतिबद्धता छ ।

गोलेले पार्टीभित्र जवाफदेहिता, पारदर्शिता र सुशासनलाई प्राथमिकता दिने बताएका छन् । साथै पार्टीभित्र देखिएका अराजकता, अनुशासनहीनता र असमझदारीको अन्त्य गर्दै अनुशासित, मर्यादित र व्यवस्थित संगठन निर्माण गर्ने उनको दाबी छ ।

पार्टीभित्रका फरक विचार र मतलाई सम्मान गर्ने बताउँदै उनले ‘विचारमा विविधता, संगठनमा एकता’ भन्ने मान्यताका साथ अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । फरक मतलाई दबाउनेभन्दा सम्मानपूर्वक सुन्ने, संवाद गर्ने र सहमतिका आधारमा एकीकृत गर्ने संस्कारको विकास गर्ने उनको भनाइ छ ।

आन्तरिक विवादलाई संवाद, सहमति र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्ने तथा व्यक्तिभन्दा विधि, विधान र संस्थागत निर्णयलाई प्राथमिकता दिने गोलेले बताएका छन्। कार्यकर्ता र नेताबीच आपसी सम्मान, सहकार्य र विश्वासको वातावरण निर्माण गर्ने उनको प्रतिबद्धता छ ।

गोलेले आफ्नो उम्मेदवारीलाई संगठन सुदृढीकरण, कार्यकर्ताको सम्मान र पार्टी एकतासँग जोड्दै ‘तपाईंको सुख–दुःखको साथी’ बन्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

उनले ‘समुन्नत नगर, सम्मानित नगरवासी’ निर्माणका लागि सबैलाई संगठित गर्दै अघि बढ्ने बताएका छन् । निजगढ नगर कांग्रेसकै नीति र नेतृत्वमा समुन्नत नगर तथा सम्मानित निजगढवासी निर्माण गर्ने लक्ष्यसहित आफ्नो उम्मेदवारी प्रस्तुत गरेको गोलेको भनाइ छ ।

नेपाली कांग्रेसको मूल आदर्श राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आत्मसात् गर्दै पार्टीलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका गोलेले अन्तिममा ‘सबै अट्ने देश, सबैलाई जोड्ने कांग्रेस’ भन्ने भावनालाई आफ्नो राजनीतिक यात्राको आधारका रूपमा प्रस्तुत गरेका छन् ।

प्रतिबद्धता :

nijgadh-supermart-adz1200-630