skip this

हरितालिका तीज मनाईदैँ, प्रधानमन्त्री र राष्ट्रपतिले शुभकामना सन्देशमा के भने ?

2.01K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं-हिन्दु नारीहरूको महानपर्व हरितालिका तीज आज मुलुक भित्र तथा मुलुक बाहिर रहेका नेपाली महिलाहरुले उत्साहका साथ मनाउँदैछन्।

हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन निराहार व्रत बसी महादेवको पूजा आराधना गरी यो पर्व मनाउँदै आर्ईएको छ।

भगवान शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वासका आधारमा घर, शिवालय र मन्दिरहरुमा नाचगाँन गरी यो पर्व मनाईन्छ ।

सत्य युगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव पती पाएकाले आजको दिनमा व्रत बस्दा मनोकांक्षा पूरा हुने सांस्कृतिक तथा धार्मिक विश्वास छ ।

बाबुले आफ्नो विवाह भगवान् विष्णुसँग गरिदिने भएपछि पार्वतीले आफूले मन पराएको वर पाउन शिवजीको तपस्या गरेकी थिइन् । आफ्नो मनोकामना पूर्ण नभएपछि उनले शिवलिङ्ग स्थापना गरी व्रत बसी पूजा आराधना गरेपछि अन्तत: उनले गरेको व्रत यसै दिन पूर्ण भएको र व्रतका प्रभावले शिवपार्वतीको विवाह भएको धार्मिक शास्त्रहरुमा उल्लेख छन् । सोही आधारमा हरेक वर्ष भाद्र शुक्ल तृतीयाका दिन तीज पर्व मनाउने गरिन्छ ।

शुभकामना सन्देश

प्रधानमन्त्री शेरबहादुर देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली हिन्दु महिलाको महान पर्व तीजको अवसरमा शुभकामना ब्यक्त गरेका छन ।

नेपाली धार्मिक एवं सांस्कृतिक पर्व र परम्परालाई संरक्षण एवं सम्बर्द्धन गर्न सरकार प्रतिबद्ध रहेको जनाउँदै प्रधानमन्त्री देउवाले स्वदेश तथा विदेशमा रहेका नेपाली दिदीबहिनीमा सुस्वास्थ्य, दीर्घायू तथा प्रगतिको शुभकामना दिएका छन् ।

तीजले नेपाली समाजमा विद्यमान लैंगिक, जातीय, वर्गीय र सबै किसिमका असमानताहरूको अन्त्य गर्ने विश्वास प्रधानमन्त्रीको विश्वास छ ।

यस पर्वले आपसी मेलमिलाप, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकताको आधार स्तम्भको रूपमा स्थापित हुने दिशामा एकजुट भएर अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भनी कामना प्रधानमन्त्री देउवाको छ ।

तीज नारी सार्मथ्यलाई अभिब्यक्त गर्ने माध्यम: राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले तीजले सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास व्यक्त गरेकी छन् ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले यसपर्वले समाजका हरेक क्षेत्रमा महिलाको समान पहुँचलाई अझ सशक्तरूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्धहरू थप सुमधुर बनाउन योगदान गर्ने विश्वास ब्यक्त गरेकी छिन ।

नारी सामर्थ्यलाई अभिव्यक्त गर्ने तीजले सामाजिक एकता, महिला सशक्तीकरण र सामाजिक सद्भाव कायम गर्न अवसर निर्माण गर्दै आएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले तीजलाई महिला जागरणको सन्देश फैलाउने सामाजिक मञ्चका रूपमा ग्रहण गर्न सकिनेमा जोड गरेकी छिन ।

‘महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव, हिंसा एवं सामाजिक कुरीतिहरूको अन्त्य गरी समतामूलक समाज निर्माण गर्न तीजले हामी सबैमा नयाँ उत्साह र जाँगर प्रदान गर्ने मैले अपेक्षा लिएको छु’, आफ्नो शुभकामना सन्देशमा राष्ट्रपतिले भनेकी छन् ।

‘चाडपर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक पक्षको समयानुकूल जगेर्ना गर्ने तथा विकृति र विसङगतिहरू न्यून गर्दै लैजाने कार्यमा क्रियाशील रहन सम्बद्ध सबैमा म हार्दिक आह्वान गर्दछु’ राष्ट्रपति भण्डारीको शुभकामना सन्देशमा उल्लेख छ ।

nijgadh-supermart-adz1200-630