skip this farak Kura Pravakar

एनसेलको नयाँ प्रमुख कार्यकारी अधिकृत र प्रबन्ध सञ्चालकमा जाब्बोर कायुमोभ

1.66K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौँ-एनसेल आजियाटा लिमिटेडमा जाब्बोर कायुमोभ नयाँ प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालकका रूपमा आएका छन्।

एनसेलको सञ्चालक समितिको मङ्गलबारको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको कम्पनीले जानकारी दिएको छ।

उनले वैशाख २७ बुधवारबाट आफ्नो कार्यभार सम्हालेका छन्। जाब्बोरको नियुक्तिसँगै एनसेलका पूर्वप्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक एन्डी चोङ्ले आजियाटा समूहको प्रधान कार्यालयमा ‘आजियाटा ग्रु चिफ कर्पोरेट अफिसर’ बनेका छन्।

कम्पनीका अनुसार नव नियुक्त जाब्बोर यसअघि टेलिया (पहिले टेलियासोनेरा) र भिम्पेलकम (अहिले भीओन) जस्ता शीर्ष दूरसञ्चार संस्थाअन्तर्गत थुप्रै कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएर काम गरिसकेका छन्। उनीसँग करिब २० वर्ष दूरसञ्चार उद्योगको उच्च व्यवस्थापनमा रही काम गरेको अनुभव रहेको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

एनसेलमा आबद्ध हुनु अघि, उनले डिजिसेल ट्रिनिडाड एन्ड टोबागोको प्रमुख कार्यकारी अधिकृतको रूपमा काम गरेका थिए। उनी डिजिसेल जमैकामा अप्रिल २०२३ सम्म प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत थिए। क्यारेबियन देशहरूमा कार्यरत रहँदा उनले डिजिटल सेवा प्रदायक बन्नका लागि व्यवसाय सञ्चालन परिवर्तनको नेतृत्व गरेका थिए।

‘एनसेल टिममा सामेल हुन पाएकोमा हर्षित छु। प्रभावशाली फुटप्रिन्ट र बलियो ब्रान्ड पोर्टफोलियो भएको एनसेलको प्रतिभावान् टिमसँग काम गर्न उत्सुक छु। टिमसँग काम गर्दै व्यावसायिक कार्यसम्पादनमा वृद्धि गर्नु र आजियाटा ग्रुपको बृहत्तर भिजन एड्भान्सिङ एसियामा आधारित हुँदै नेपालको डिजिटल विकास र नेपालीको जीवनस्तर सुधारमा योगदान पुर्याउन ध्यान केन्द्रित गर्नेछु,’ जाब्बोरको भनाई उद्धृत गर्दै विज्ञप्तिमा भनिएको छ, ‘१ करोड ६० लाखभन्दा बढी ग्राहक र नेपालीको सेवा गर्न पाउँदा म गौरवान्वित छु।’

कम्पनीका अनुसार दूरसञ्चार उद्योगको व्यापक ज्ञानका साथ जाब्बोरले प्रमुख कार्यकारीको रूपमा रही सफल ट्र्याक रेकर्ड कायम गरेका छन्। पिपल लिडरसिप, बिजनेस इम्प्रुभमेन्ट, डिजिटल स्ट्राटेजी, अर्गनाइजेसनल डिजाइन र प्रोसेसेस् लगायत क्षेत्रमा गरेका उदाहरणीय कामका लागि उनी चिनिन्छन्। उनले ताजिकिस्थानको खुजन्ड स्टेट युनिभर्सिटीबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन्।

nijgadh-supermart-adz1200-630