शिक्षालाई प्रविधिसँग जोड्नु पर्छ : सांसद मैनाली (भिडियोसहित)
जनजागृती आधारभूत विद्यालय खोल्माटोलको ३६ औं अभिभावक दिवस सम्पन्न
वि.सं.२०८१ पुस ४ बिहीवार ०८:२१

बारा–बाराको निजगढ–५ खोल्माटोलस्थित जन जागृती आधारभूत विद्यालयको ३६ औं जन्मजयन्ती एवं अभिभावक दिवस बुधबार सम्पन्न भएको छ ।
अभिभावक दिवस विशेष कार्यक्रमको संघीय सांसद अच्यूत मैनालीले उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मैनालीले शिक्षालाई प्रविधिसँग जोड्नु पर्ने बताएका छन् । नयाँ नयाँ शिक्षा र प्रविधिसँग जोड्ने शिक्षातर्फ शिक्षक–अभिभावकको ध्यान जानुपर्ने बताउँदै बालबालिकाको शिक्षामा अभिभावक मुख्य शिक्षक भएको बताए ।
कार्यक्रममा मधेस प्रदेशका सांसद त्रिलोकी चौधरीले विद्यालयको लागि प्रदेश सरकारबाट विनियोजित बजेट कार्यान्वयन हुने विश्वास व्यक्त गरे । उनले विद्यालयको सहयोगको लागि आफु सधै तत्पर रहने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले निजगढको समग्र शिक्षाको विकास गर्ने क्रममा साना साना कुराहरुलाई ध्यान दिईने बताए । विद्यालयको भौतिक विकाससँगै विद्यार्थीको मनोविज्ञानका समस्या समाधान गरेर अघि बढ्ने योजना रहेको सुनाए ।

त्यस्तै निजगढ नगरपालिकाकी उपमेयर सोममाया थिङ्गले शैक्षिक गुणस्तर बढाउने योजना अनुसार सुधारको लागि विद्यालयको आवश्यकता अनुसार बजेट बनाउने बताईन् । उनले नगरपालिकाले प्रशिक्षक राखेर किशोरी आत्मरक्षा तालिम सञ्चालन गरिरहेको जानकारी गराईन् ।
मेयर पुरीका अनुसार नगरपालिकाले यो वर्षको एसईई परीक्षालाई मध्यनजगर गरेर निःशुल्क तीन महिने कोचिङ्ग कक्षा सञ्चालनमा ल्याएको छ । उनले आफ्ना दिवंगत पिताको स्मृतीमा अक्षयकोष स्थापनाको घोषणा गरेका छन् ।
विद्यालयका पूर्व विद्यार्थी समेत रहेका निजगढ वडा नं. ५ का वडा अध्यक्ष सुर्यबहादुर थापाले विद्यालयको विकासको लागि बाल्यकालमा गरेको संघर्ष स्मरण गर्दै निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न अभिभावकहरुले साथ दिनुपर्ने धारणा राखे । उनले शिक्षामा लगानी गर्दा महङ्गोको नभई गुणस्तरमा ध्यान दिनुपर्ने बताए ।
त्यस्तै निजगढ नगरपालिका कार्यपालिका सदस्य सर्मिला विश्वकर्माले आफ्नो कार्यकालभरि विद्यालयलाई सहयोग गर्ने प्रतिवद्धता जनाईन् ।
कार्यक्रममा सार्वजनिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, प्रधानाध्यापक हस्तबहादुर लामा, गौरीशंकर माध्यमिक विद्यालय सडकटोलका प्रधानाध्यापक यादवकुमार तिमल्सिना, साथी सहकार्य संस्थाकी अध्यक्ष सरिता सापकोटा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
यसैविच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भोलाप्रसाद ढुंगाना साजनले विद्यालयलाई नमुनाका रुपमा विकास गर्न लागिरहेको बताए ।
अभिभावक दिवसको अवसरमा विद्यालयकी शिक्षिका गोलकुमारी दनुवारले ५० हजार राशिको अक्षय कोष स्थापना गरेकी छिन् । उनले दिवंगत आमा–बुवाको स्मृतीमा रामभक्त छात्राबृत्ति कोष स्थापना गरेकी हुन् ।

कार्यक्रममा रामभक्त छात्राबृत्ति कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्राबृत्ति वितरण गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक शिवप्रसाद नेपालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए भने सञ्चालन ललिता सापकोटा, गोलकुमारी दनुवार, सञ्जय तिमल्सिना र स्वागत गोलकुमारी दनुवार, रमिला चौलागाई, शसिकला गौतम, जयन्ती गौतमले गितमार्फत गरेका थिए ।
कार्यक्रममा अभिभावक दिवसको अवसरमा विभिन्न साँस्कृतिक प्रस्तुतिका साथै खेलकुद प्रतियोगिताका विजयी खेलाडी र परीक्षामा उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुस् :
वि.सं.२०८१ पुस ४ बिहीवार ०८:२१

















