जीतपुर गोली काण्ड : वडा अध्यक्ष पाँच दिनदेखि हिरासतमा, थप एक जना पक्राउ ! यी हुन् फरार

वि.सं.२०८१ चैत ७ बिहीवार २२:१४

बारा–बाराको जीतपुरसिमरा उपमहानगरपालिका ७ मा फागुपूर्णिमाको रात भएको घटनाको विषयमा दुवै पक्षले एकले अर्कालाई किटानी जाहेरी दिएपछि बारा प्रहरीले ११ जना विरुद्ध मुद्दा दायर गरेका छ ।
त्यहाँका वडा अध्यक्ष सुनिल गुप्तासहित १० जना विरुद्ध परशुराम गिरीले दिएको जाहेरीका आधारमा १० जना विरुद्ध मुद्दा दायर भई जिल्ला अदालतबाट सोमबार पक्राउ पूर्जी जारी भएको छ । जसमध्ये वडा अध्यक्ष गुप्ता पाँच दिनदेखि न्यायिक हिरासतमा छन् ।
९ जना फरार मध्ये विहीबार प्रहरीले स्थानीय सुनील गुप्तालाई पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलीले गुप्तालाई बाराको जीतपुरसिमरा उपमहानगरपालिका १ सिमरा स्थित सिमरा विजनेश सेण्टरबाट साँझ पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिमराकी प्रहरी नायब उपरिक्षक शुभद्रा लामाले गुप्तालाई सिमराको प्रहरी टोलीले पक्राउ गरि जिल्ला प्रहरी कार्यालय बारामा पठाएको जानकारी दिईन् ।
गुप्ता जीतपुरस्थित यामाहा मोटरसाईकलको शोरुम सञ्चालन हुन् ।
गत आइतबार पक्राउ परेका वडाध्यक्ष गुप्ता विरुद्ध प्रहरीले आपराधिक उपद्रव, डाँका र ज्यान मार्ने उद्योगमा ७ दिनको म्याद थपेर अनुसन्धान गरिरहेको छ ।
अन्य आरोपित फरार छन् । उनीहरुका खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार वडा अध्यक्ष गुप्ताका भाई अनिल गुप्ता, जीतपुर नगर उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष मनोज साह लगायत फरार छन् ।
त्यस्तै अरुण कुमार गुप्ता, सुरेश यादव, नरेश यादव, सुनिल साह कानु, रामजी प्रसाद, फिरोज अन्सारी फरार छन् । उनीहरु १० जना विरुद्ध पक्राउ पूर्जी जारी छ । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी निरीक्षक राधेश कुमार खत्रीलाई अनुसन्धान अधिकृत तोकेको छ ।
त्यस्तै गोली चलाउने परशुराम गिरी विरुद्ध वडा अध्यक्ष गुप्ताको उजुरीका आधारमा प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । उनी विरुद्ध पक्राउ पूर्जी जारी भएको छैन ।

वि.सं.२०८१ चैत ७ बिहीवार २२:१४