skip this

मधेशमा जुड शीतल मनाइयो

2.33K shares
oil-nigam-amlekhgunj-adv.jpeg
सप्तरी । सप्तरीसहित तराई मधेशका जिल्लामा जुड शीतल सिरुवा पर्व आज मनाइएको छ ।

सिरुवाको दिन बिहानै परिवार, छिमेकका अग्रजको हातबाट टाउकोमा चिसो पानी लिने र सानाले ठूलाबडाको खुट्टामा पानी चढाउँदै ढोगेर आशिर्वाद लिएका छन् ।

बिहानै घर आँगन लिपपोत गरी स्नान गरी कुल देउवालाई पुजासमेत गरेका छन् । भात, दाल, विभिन्न किसिमका तरकारीका तरुवा, सजिवनलगायत तरकारी, आचार, झोरी, बरी, पापड पकाई अन्य दिनभन्दा धेरै परिकार खानेकुरा आफूसँगै आफन्त साथि-भाइलाई घर-घरमा खुवाएको स्थानीय कमली रामले बताइन् ।

बालबालिका, युवा तथा वृद्धवृद्धा सबैका लागि उत्साहको पर्वको रूपमा सिरुवालाई लिँदै आएको स्थानीय दानालाल चौधरीले बताए ।

थारु, राजवंशीलगायतका आदिवासी जनजातिले बढी उत्साहका साथ मनाउने सिरुवामा पानी, हिलो र रंग खेलेर मनाएकोले सिरुवालाई विविधता झल्किने चाडको रूपमा लिने गरेको चौधरीको भनाई छ ।

नयाँ वर्ष सुरुवातदेखि गर्मी बढ्ने भएका कारणले शिरमा पानी लिएर आशिर्वाद ग्रहण गर्दा शीतलताको प्राप्ति हुनुका साथै गर्मीको प्रभाव कम रहोस् भन्ने सन्देश जुड शीतलले दिने विश्वास रहेको स्थानीय रुपा यादवको भनाई छ ।

यसैगरी माटोले बनेको हाम्रो शरीरमा माटाकै हिलो लेपन गरी सिरुवा मनाउँदा वर्षभरिको रोगव्याध नाश भई मनका विकारको पनि सफाइ हुने उद्देश्यले यो पर्व मनाउने प्रचलन रहेको अग्नि साइर कृष्णा श्रवण गाउँपालिकाका दुर्गानन्द चौधरीले बताए ।

उनले भने, ‘हाम्रा चाडपर्वले पीठो खाने र राम्रो लगाउने अवसर मात्र नभई कुनै न कुनै सन्देश प्रवाह गर्ने भएका कारण हामीले मनाउने चाडपर्वको आआफ्नै महत्त्व छ ।’

nijgadh-supermart-adz1200-630