कविता : हाम्रो सम्बन्ध

603 shares

म जिन्दगी जिएर बिताउ भन्छु, उनी जिन्दगी पिएर बिताउ भन्छन्
हो, त्यसै दिन देखि हाम्रो सम्बन्धमा कहिले खग्रास लाग्यो त कहिले खण्डग्रासले  छोडेन

म जिन्दगीलाई साधनामा लागेको कुनै योगी साधक जस्तै बनेर बिताउँ भन्छु
उनि जिन्दगीलाई माधक पदार्थ सेवन गरि लठिएको भोगी जस्तै बनेर बिताउँ भन्छन्
हो, त्यही बिचार नमिले देखिनै हामी भारत र पाकिस्तानको जस्तो सम्बन्ध लिएर हिडेका छौँ

म जिन्दगीमा प्रेमले भरिएको इन्द्रलोकको कल्पना गर्दै आफु अप्सरा बन्न कुनै कसर छोड्दिन
उनी कलियुगको कृष्ण बनेर गोपिनीहरुसंगै नाच्नमा मग्न हुन्छन्
हो, त्यसै दिन देखि त हाम्रो सम्बन्ध अप्ठ्यारोमा फलेको कुनै मीठो फल जस्तै बनेको छ

म जिन्दगीलाई इश्वरको बरदान मानी सदै जिन्दगीको हिफाजत गर्नुपर्छ भन्छु
उनी जिन्दगी बा आमाले भोगेर निस्किएको निचोड हो भन्दै बेसुरा भएको देख्छु
ठ्याक्कै यहि कुरा नमिलेर हाम्रो सम्बन्ध नेपालको राजनीति जस्तो भद्रगोल भएको छ

उनी आफ्नो परिवारको दम देखाएर दुई तिहाइको शासन लाद्न खोज्छन्
म कडा प्रतिपक्षी भएर उनीसंग वाक युद्धमा उत्रिरहन्छु
हो यसै दिन देखि त हाम्रो सम्बन्धमा बाहिरी पक्षहरूले खेल खेल्न थालेका हुन् ।

-दुवाकोट, भक्तपुर