skip this

जीतपुरसिमरा नगर अस्पतालमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न अनुमति माग

120 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-जीतपुरसिमरा उपमहानगरपालिकाले जीतपुरसिमरा नगर अस्पतालमा सर्पदंश उपचार सेवा केन्द्र स्थापना तथा सञ्चालनका लागि अनुमति दिन इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, टेकुसँग अनुरोध गरेको छ।

उपमहानगरपालिकाले २०८३ साउन २९ गते महाशाखाका निर्देशकलाई पत्र पठाउँदै यस क्षेत्रमा सर्पदंशका घटना धेरै हुने र समयमै उपचार नपाउँदा बिरामीको मृत्यु तथा अपाङ्गता हुने अवस्था रहेको जनाएको हो।

उपमहानगरपालिकाका अनुसार सर्पदंशका बिरामीलाई हाल करिब ४० किलोमिटर टाढा रहेको कलैया प्रादेशिक अस्पताल वा करिब ३० किलोमिटर टाढा रहेको नारायणी अस्पताल, वीरगञ्ज लैजानुपर्ने अवस्था छ। समयमै उपचारका लागि अस्पताल पुर्‍याउन नसक्दा जोखिम बढ्ने गरेको पालिकाको भनाइ छ।

पत्रमा यस क्षेत्रमा वैशाखदेखि कार्तिकसम्म सर्पदंशका करिब ५० देखि ५५ जना बिरामी आउने गरेको उल्लेख छ। यो संख्या विगत तीन वर्षको औसत भएको उपमहानगरपालिकाले जनाएको छ।

सबै सर्पदंशका बिरामीलाई अन्य अस्पतालमा रेफर गर्ने गरिएको र त्यसका कारण तथ्यांकमा Under Reporting हुने गरेको पालिकाले जनाएको छ। आर्थिक वर्ष २०८२/८३ मा मात्रै सर्पदंशका कारण दुई बालबालिकाको मृत्यु भएको पत्रमा उल्लेख गरिएको छ।

नगर अस्पतालमा सर्पदंश उपचार सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, जनशक्ति तथा मेडिकल उपकरणको व्यवस्था गर्न सकिने उपमहानगरपालिकाले प्रतिबद्धता जनाएको छ। अस्पतालमा विगत तीन वर्षदेखि मेडिकल अफिसरसहित नर्स तथा प्यारामेडिक्सबाट २४ घण्टे आकस्मिक सेवा सञ्चालन हुँदै आएको पनि पत्रमा उल्लेख छ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट अनुगमन गरी सर्पदंश उपचार सेवा सञ्चालनका लागि अनुमति प्रदान गरिएमा आवश्यक तयारी पूरा गरी सेवा सञ्चालन गर्न अस्पताल सक्षम रहेको उपमहानगरपालिकाले जनाएको छ।

नगर प्रमुख राजन पौडेल र प्रमुख प्रशासकीय अधिकृत डमरु प्रसाद निरौलाद्वारा हस्ताक्षरित पत्रमार्फत उपमहानगरपालिकाले सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति प्रदान गर्न सिफारिससहित अनुरोध गरेको हो

nijgadh-supermart-adz1200-630