रचना : म यसरी स्वार्थी !

वि.सं.२०७९ चैत २ बिहीवार १३:३१

स्वार्थ नै स्वार्थले भरिएको संसार हेर्दा,
यस्तो लाग्छ म पनि स्वार्थी भइदिउँ,
तर म भित्रको अर्को म ले मान्दै मान्दैन।
के गरुँ तिमि नै भन ?
म भित्रको म ले कसैको पनि चित्त दुखाउन चाँहदैन । म भित्रको म ले कसैलाई ठग्न र ढाँट्न खोज्दैन । तर पनि तिमिले मलाई स्वार्थी भएको आरोप लगायौ ।
अवश्य हुन सक्छु, म तिम्रो नजरमा स्वार्थी,
किनकी म भित्र यो समाजलाई बद्लिने स्वार्थ छ ।
बेथिति, भ्रस्टाचारी र अत्याचारीको विरुद्धमा बोल्ने स्वार्थ छ ।
हो म भित्र परिवर्तनसङ्ग जिन्दगी बिताउने स्वार्थ छ ।परिवर्तनका हरेक कार्यमा सङ्गै सामेल हुने स्वार्थ छ । ति आँखामा आँसु पुच्छ्ने र हाँस्दा सङ्गै खुशी हुने स्वार्थ छ ।
परिवर्तनका ती आवाजहरुसङ्ग अङालोमा बाँधिएर संसार भुल्ने स्वार्थ छ।
छैन मेरो चाहना धन सम्पत्तिमा रमाउने,
परिवर्तनकालागि निस्किने तिम्रा आवाजलाइ नै मेरो
सम्पत्ति बनाउने स्वार्थ छ।
गाउँ घरमा सङ्गै बसेर गुन्द्रुक र भात खाने स्वार्थ छ ।एकान्तमा सङ्गै बसेर परिवर्तनका योजना बनाउने स्वार्थ छ। आउने बाधा र अड्चनमा हतियार भइ तिमिलाइ छेक्ने स्वार्थ छ ।
हो म यस्तै यस्तै स्वार्थी छु ।
त्यसैले तिमिले मलाई स्वार्थी देख्यौ ।
मेरो प्रेमपुर्ण स्वार्थलाइ, तिमि स्वार्थी भन्छौ,भने हुनु छैन मलाई अरु जस्तो निस्वार्थी, स्वार्थको खोल ओढेर बन्नु छैन मलाई निस्वार्थी,
मुकुन्डाे लगाउनेहरुलाइ तिमिले निस्वार्थी देख्दै छौ।सत्य र निस्ठापुर्ण मेरो भावानात्मक प्रेमलाइ तिमी स्वार्थी भन्दै छौ ।
ति निस्वार्थी भन्दा म स्वार्थी नै ठिक छु । दुनियाँले मलाइ स्वार्थीको बिल्ला नै भिडाउन् । आत्मसात गर्दै मलाइ त्यो आरोप पनि स्विकार्य छ । किनकी निस्वार्थी हुनु भन्दा म स्वार्थी भएकोमै गर्व छ ।
-भरतपुर, चितवन

वि.सं.२०७९ चैत २ बिहीवार १३:३१