प्रेम दिवस : के हो त चोखो माया ?

786 shares

आज १४ फेब्रुअरी भ्यालेन टाईन डे अर्थात प्रेम दिवस, आजको दिनलाई बिश्वभर उत्साहका साथ मनाउने गरिन्छ । आजको दिनलाइ एउटा बिशेष पर्वको रुपमा नै मनाउन थालिएको छ । फेब्रुअरी महिनाको ७ देखि १४ सम्म एक सप्ताह सम्म मनसिने यो पर्व कसरी मनाउन थालिएको भन्ने बारेमा त कतिपयलाई थाहा नै छैन् ।

७– रोज डे, ८–प्रपोज डे, ९–चकलेट डे, १०– टेडी डे, ११– हग डे, १२– प्रोमिश डे, १३– किस डे र १४– भ्यालेन टाईन डे को रुपमा मनाईने गरिन्छ ।

यसरी भयो सुरुवात

वास्तवमा आजको दिन पादरी सेन्ट भ्यालेन्टाइनको बलिदानी सङ्ग सम्बन्धित रहेको छ । रोमन सम्राट क्लाउडियस द्वितियले युवाहरू प्रेम र विवाह तिर लागे सैनिक सेवा प्रभावित हुने भन्दै प्रतिबन्ध लगाएका थिए । तर भ्यालेन्टाइन भन्ने ब्यक्तिले सम्राटको कुराल्को विरोध गर्दै युवा युवतिहरुको सामुहिक बिवाह गराउने कार्य गरेको हुनाले उनलाइ आजकै दिन मृत्युदणडको सजाय दिइएको थियो । त्यही दिन देखि आजको दिनलाई प्रेम दिवसका रुपमा मनाउन थालिएको हो ।

के हो प्रेम ?

प्रेम शब्द आफैमा महान शब्द हो । प्रेम अदृश्य छ । यसलाई देख्न, नाप्न र मूल्य तोक्न सकिदैन । प्रेम महसुस, आभाष र चाहना हो । हुन त प्रेम गर्ने ब्यक्तिकोलागी कुनै दिनले फरक पर्ने होइन, हरेक पल प्रेममय नै हुन्छ । तर आजकलको प्रेम फेशनको रुपमा गर्न थालिएको छ । जो रुपवान र धनवान् छ उसैसङ्ग प्रेम गर्ने होडवाजी चल्न थालेको छ । के प्रेम यस्तो पनि हुन्छ ? वास्तवमा प्रेम त कहाँ, कसरी र को सङ्ग हुने हो अत्तोपत्तो नै हुँदैन । प्रेमले जातपात, रुपरङ्ग र धन होइन मानवको भावलाई मात्र इन्कित गर्दछ । जुन आत्मिय सम्बन्ध हो, यो त केवल आत्मासङ्ग समर्पित हुने हो ।

एकछिन भेट्न पाएको छैन म तिमिलाइ माया गर्छु भन्न जति सजिलो छ, त्यस्लाइ निर्वाह गर्नु चानचुने कुरा होइन । स्वार्थ लुट्ने अनि यात्रामा एक्लै छोडेर हिड्ने, आकर्षण र यौन सम्बन्ध कायम गर्नकोलागी मात्र प्रेम शब्दको प्रयोग गरेर प्रेम ब्यापारको रुपमा फस्टाउँदै गएको देखिन्छ ।

सच्चा प्रेम गर्नेले त एक अर्काको इच्छा, चाहना, लक्ष्य र विचारको सम्मान गर्न सक्नु पर्दछ । प्रेम गरेको ब्यक्तिलाई पाउन नसकिएला तर पनि उसको हरेक सुख र दुखमा साथ दिन सक्नु पर्दछ ।

प्रेममा विकृती

आफुले चाहेको जस्तो भयो भने अति उत्तम अनि अलिकती खटपट भयो कि उसैको बदनाम गर्दै हिँड्ने ब्यक्ती त मानवको रुपमा कलङकीत मात्र हो । प्रेम गर्ने ब्यक्तिले जस्तोसुकै परिस्थितिमा पनि साथ छोडेर कहिले पनि जाँदैन । घरमा श्रीमती र श्रीमान हुँदा हुँदै एकछिनको प्यास मेटाउनकोलागी बाहिर गाउँ डुलेर बस्नेहरु अहिले समाजमा छ्याप्छ्याप्ती छन् ।

घरकी मुर्गी दाल बराबर भने जस्तै मान्छेहरुले भावनासङ्ग न भएर यौवनतासङ्ग रमाउनुलाइ प्रेम मान्ने गरेका छन् । उमेरमा त स्याल पनि घोर्ले नै देखिन्छ । यौवन अवस्थामा राम्री लाग्ने श्रीमती बच्चा पाई सकेपछि कुरुप र मोटि भइ भन्दै तिमी मेरो लायक छैनौ । तँ जस्तो हजार वटि ल्याउन सक्छु भन्दै शब्दका वाण पनि हान्छन, अनि रात परे पछि ओछ्यानमा सुताएर आफ्नो इच्छा पूरा गर्छन् । त्यस्ता पुरुषहरुको मनमा प्रेम होइन स्वार्थ हो भन्ने कुरा सहजै प्रमाणित हुन्छ । अचम्म लाग्छ जब म लायक छैन भने म जस्तै हजारौं किन चाहिएको हो ।

पुरुष मात्र होइन आजकल महिला पनि कम छैनन् । जसको प्रोफाइल राम्रो छ, त्यसकै पछाडि दौडिन्छन् । आफ्नो मान्छे सात समुन्द्र पारी विदेशमा रातदिन नभनी उसैको खुशिकोलागी हावा, पानी, राप र तापको प्रवाह नगरी परिश्रम गरिरहेका छन् । उनीहरुको अवस्थालाइ नजरअन्दाज गरेर अर्कैको अङ्गालोमा बाँधिदै आई लभ यू भन्नेहरुको पनि कमि छैन । एकछिनको आवश्यकता र आकर्षणमा डुबेर प्रेम शब्दको अपमान गर्न कत्ति पनि चुक्दैनन् । यस्ता नकारात्मक प्रवृत्तिबाट गुज्रिएको हाम्रो समाजमा यसै कारण कयौंको मन र घर टुटेको छ । जोसङ्ग मन र विचार नै मिल्दैन त्यो ब्यक्तिसङ्ग तन साटेर प्रेम हुने भए यहाँ कसैको दिलमा घाउ हुने थिएन, कोहि पनि पीडित भइ रोएर जिन्दगिभरी बस्नु पर्ने थिएन होला ।

चाउरिएर जाने अनुहार, उमेरसङ्गै गलेर जाने यौवन अनि माटोमा मिल्ने शरिरसङ्ग गरिने कस्तो प्रेम हो ? नजिक होस वा टाढा सच्चा र निश्चल प्रेम छ भने केहिले रोक्न सक्दैन । कुनै शक्तिले डगमगाउन सक्दैन । फुल, चकलेट, पुतली र महङ्गा उपहारसङ्ग प्रेम हुने होइन । प्रेम त साथ र मन दिएर हुने हो । सब भन्दा ठूलो उपहार त त्यही व्यक्ति हो, जो इमान्दारिताका साथमा जिन्दगिभरी साथ निभाउछ । संसारमा हरेक चिजको मूल्य छ, तर प्रेम अमुल्य छ । सहि ब्यक्तिसङ्ग प्रेम भयो भने जिन्दगी रङ्गिन बन्छ, गलत ब्यक्तिसङ्ग भयो भने जिन्दगी नै तहसनहस हुन्छ । त्यसैले प्रेम शब्दको सम्मान गरौं, अपमान होइन ।

-भरतपुर, चितवन