गृह जिल्लामा स्वागत थाप्दा थाप्दै मन्त्री गुप्तालाई छिमेकी जिल्लाबाटै पहिलो गाँसमै ढुङ्गा ! हाकिम सरुवा विरुद्ध आन्तरिम आदेश
वि.सं.२०८१ साउन ९ बुधवार २१:२९
बारा–संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता गृह जिल्ला पर्सामा छन् । पहिलो पटक मन्त्री बनेका गुप्ता गृह जिल्लामा आयोजित स्वागत कार्यक्रममा व्यस्त छन् ।
सिमरा विमानस्थलबाटै स्वागत थाप्दै मंगलबार वीरगञ्ज पुगेका थिए । नेकपा (एमाले) बाट मन्त्री बनेका गुप्ताले पार्टीका नेताहरुको अनुरोधमा गरेको सरुवाको निर्णय विवादित मात्र बनेन् पहिलो गाँसमा ढुङ्गा भनेझैं भएको छ ।
सरकार परिवर्तन भए लगत्तै राजनीतिक स्वार्थमा जीतपुरसिमराकी प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्लेको सरुवा गरिएपछि सरुवा विवादित बनेको थियो । उनी मन्त्री भएपछि गरिएको पहिलो सरुवा भएको बुझिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पठाएको प्रमुख प्रशासकीय अधिकृतलाई स्वीकार नगर्ने उपमहानगरपालिकाले जनाएपछि यो विवाद सतहमा आयो । कानुनविपरीत गरिएको निर्णय विरुद्ध उपमहानगरपालिकाका मेयर राजन पौडेलले तत्काल सरुवा रोक्न सामान्य प्रशासन मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्णय बदर गराउन माग सहित पत्र पठाए ।
सरुवाको निर्णय विरुद्ध मन्त्रालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पत्र मात्र पुगेन प्रमुख प्रशासकीय अधिकृत काफ्ले मंगलबार सर्वोच्च अदालतमा रिट नै हालिन् ।
उपसचिव एवं प्रमुख प्रशासकीय अधिकृत काफ्लेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र उपसचिव चेत कुमार पोखरेललाई विपक्षी बनाइ मंगलबार रिट दायर गरेकी थिइन् ।
अन्तरिम आदेश जारी
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरुवाविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
काफ्लेले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले बुधवार अल्पकालीन आदेश जारी गरेको हो ।
जिम्मेवारी सम्हालेको साढे दुई महिना नपुग्दै उनलाई सरुवा गर्दै सामान्य प्रशासन मन्त्रालयले उपसचिव चेत कुमार पोखरेललाई जीतपुरसिमरामा खटाएको थियो । उनीहरूको सरुवा साउन ३ मा भएको थियो ।
उपमहानगरपालिकाको १० औँ नगर सभामा प्रमुख प्रशासकीय अधिकृत काफ्ले खेलेको भूमिकालाई लिएर असन्तुष्ट जनप्रतिनिधिको समूहले सत्ताको आडमा काफ्लेको सरुवा गराएका थिए ।
एक सातामै सरुवाको निर्णय उल्टिएको छ । सर्वोच्चले अन्तरिम आदेश दिएपछि काफ्ले बुधवार देखिनै उपमहानगरपालिकामा हाजीर भएर काम शुरु गरेकी छन् ।
वि.सं.२०८१ साउन ९ बुधवार २१:२९