skip this

एसएमजी प्रकरण : निर्दोषलाई दोषी साबित गराउने सेनाका ४ अधिकृतविरुद्ध किटानी जाहेरी

नेपाली सेनाका चारजना अधिकृतविरुद्ध जिल्ला सरकारी वकिल, चितवन कार्यालयमा किटानी जाहेरी

2.18K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं । १५ फागुनमा नेपाली सेनाका चारजना अधिकृतविरुद्ध जिल्ला सरकारी वकिल, चितवन कार्यालयमा किटानी जाहेरी परेको छ।

तत्कालिन चितवनस्थित कालीबहादुर गणका महासेनानी राजेन्द्रमणि गिरी, सेनानी दीपेन्द्र श्रेष्ठ, सहसेनानीद्वय विज्ञान विष्ट र गणेश भट्टराईविरूद्ध किटानी जाहेरी परेको हो। उनीहरुविरुद्ध किटानी जाहेरी दिने व्यक्ति हुन् पूर्वसैनिक जवान लबकुमार गुरुङ।

गुरुङ तिनै व्यक्ति हुन्, जो सेनाको कोतबाट हतियार चोरी गरेको अभियोगमा अनाहकमा ३० महिना जेल बसे। पछि निर्दोष साबित भए, २०७८ भदौ १८ गते भरतपुर कारागारबाट रिहा भए।

गुरुङलाई अनाहमा जेल पुर्याउनेमा तिनै चारजना अधिकृतको हात रहेको भन्दै किटानी जाहेरी परेको हो। गुरुङले सरकारी वकिलको कार्यालय भरतपुरमा पुगेर घटना हुँदा कालीबहादुर गणमा कार्यरत उनीहरुविरूद्ध किटानी जाहेरी दिएका हुन्।

गुरूङले आफूलाई चरम यातना दिएर जबर्जस्ती दोषी साबित गराएको भन्दै न्यायका लागि सोही गणमा कार्यरत सैनिक अधिकृतहरूविरूद्ध किटानी जाहेरी दर्ता गराएको जिल्ला न्यायाधिवक्ता महेशप्रसाद खत्रीले जानकारी दिए।

गणको सैनिक हिरासतभित्र रहँदा मानसिक र शारीरिक यातना दिएर जबर्जस्ती आफूलाई दोषी कसुर गर्न लगाएको गुरुङले दिएको जाहेरीमा उल्लेख छ।

त्यस्तै आफूलाई पक्राउ गरी हतकडी र आँखामा पट्टी बाँधेर असह्य पीडा हुने गरी कुटपिट गरिएको, कुटीकुटी बेहोस बनाएर झ्यालको डन्डीमा झुन्ड्याइएको किटानी जाहेरीमा उल्लेख गरिएको गुरुङले बताए।

‘अनुसन्धानको क्रममा हातखुट्टा बाँधेर नाक, मुख, मलद्वार र मुत्रनलीबाट र्खुानीको धुलो भिजाएर सिरिन्जमार्फत भित्र पसाई चरम यातना दिइएको कुरा पनि जाहेरीमा उल्लेख गरेको छु,’ गुरुङले भने।

त्यस्तै कसुर स्वीकार नगरे आफ्नो श्रीमतीलाई भारतको बम्बई लगेर बेचिदिन्छु र त्यही पैसाले हराएको हतियार किन्छु भनेर धम्क्याएको समेत अनलाइनन्यु७को सम्पर्कमा आएका गुरुङले बताए।

सरकारी वकिलको कार्यालयमा किटानी जाहेरी दिएपनि श्रीमतीलाई मुम्बईमा लगेर बेचिदिन्छु भन्ने उनीहरुविरुद्ध मानव अधिकार आयोगदेखि प्रहरीको मानव बेचबिखन ब्यूरोमा समेत उजुरी गर्ने उनले बताए।

पूर्वसैनिक जवान गुरुङको श्रीमतीलाई मुम्बईमा लगेर बेच्न खोज्ने कर्नेल गिरी, मेजर श्रेष्ठ, क्याप्टेनद्वय भट्टराई र बिष्टलाई मानव बेचबिखनमा समेत अनुसन्धान गरिनुपर्ने भन्दै माग उठेको छ।

निर्दोष व्यक्तिलाई दोषी साबित गरी कारबाही गराएर मानहानि गरेको भन्दै उनीहरुलाई हदैसम्म कारबाही र क्षतिपूर्तिको समेत माग गरेका गुरुङ न्यायका लागि एड्भोकेसी फोरम नेपालका कानुन अधिकृत अधिवक्ता कुमारप्रसाद थपलियालाई लिएर सरकारी वकिलको कार्यालय पुगेका थिए।

गुरुङले दिएको जाहेरीलाई सम्बन्धित गणमा पठाइएको न्यायाधिवक्ता खत्रीले बताए।

nijgadh-supermart-adz1200-630