नेपालको मुख्य पहिचान अनेकतामा एकता हो –मुख्यमन्त्री यादव
वि.सं.२०७९ फागुन २३ मंगलवार ११:५०

काठमाडौं । होलीले विभिन्न समुदायबीच सद्भाव र मेलमिलाप बढाउने मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बताएका छन् । आज होली पर्वको अवसरमा शुभकामना दिँदै उनले यस्ता पर्वले समुदायहरूलाई आ–आफ्ना मौलिक परम्परा र संस्कृतिको अनुसन्धान, संरक्षण र संवद्र्धन गर्न पनि अभिप्रेरित गर्ने बताएका छन् ।
बहुजातीय, बहुभाषीय, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताहरूले भरिएको सुन्दर देश नेपालको मुख्य पहिचान अनेकतामा एकता रहेको उल्लेख गर्दै यहाँका हरेक जातजाति र धर्मावलम्बीहरूमा आ–आफ्नै सांकृतिक महत्व र मौलिक परम्परा रहेको बताएका छन् ।
मुख्यमन्त्री यादवले असत्यमाथि सत्यको विजयका रूपमा मनाइने होली पर्वले मानव जीवनलाई रङ्गीन र उल्लासमय बनाउन प्रेरित गर्ने, आपसी मेलमिलाप र सद्भावको यस पर्वले मधेस प्रदेश, देश र देश बाहिर रहेका सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, उमङ्ग र हौसला प्रदान गरोस् भन्ने कामनासमेत व्यक्त गरेका छन् ।
वि.सं.२०७९ फागुन २३ मंगलवार ११:५०

















