वीरगञ्जका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी, पाँच जनाभन्दा बढी भेला हुन नपाइने
वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०९

वीरगञ्ज— जिल्ला सुरक्षा समितिको निर्णयअनुसार पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले वीरगञ्ज महानगरपालिकाका संवेदनशील क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन्।
जारी आदेशअनुसार मिति २०८३ साउन १५ गते साँझ ५:०० बजेदेखि २०८३ साउन १६ गते बिहान ६:०० बजेसम्म तोकिएको क्षेत्रमा पाँच जनाभन्दा बढी व्यक्ति जम्मा हुन, सभा, जुलुस तथा प्रदर्शन गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी दाहालले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) बमोजिम निषेधाज्ञा जारी गरिएको जानकारी दिएका छन्।
निषेधाज्ञा लागू हुने क्षेत्रको सीमा
पूर्व: प्रतिमा चौक–बसपार्क बाइपास रोड
पश्चिम: तिलावे पुल
उत्तर: गण्डक चौक
दक्षिण: शंकराचार्य गेट
जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा अवधिमा आदेशको उल्लङ्घन गरी पाँच जनाभन्दा बढी भेला हुने, सभा, जुलुस वा प्रदर्शन गर्ने व्यक्तिलाई नियन्त्रणमा लिई प्रचलित कानूनबमोजिम कारबाही गरिने चेतावनी दिएको छ।
प्रशासनले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै सर्वसाधारणलाई निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको छ।
वि.सं.२०८३ साउन १५ शुक्रवार १८:०९

















