skip this

‘सोनाम ल्होसार’ : राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री र सभामुखको शुभकामना सन्देश

1.07K shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाण्डौं । ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री र सभामुखले शुभकामना सन्देश जारी गरेका छन् ।
राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउँछ : राष्ट्रपति
राष्ट्रपति विद्यादेवी भण्डारीले तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना दिएकी छन्।
मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएको पाइन्छ ।
राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याइरहेको बताएकी छन्।
‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु’ शुभकामना सन्देशमा भनिएको छ ।
लोकभाकाको अभिन्न अङ्ग: : उपराष्ट्रपति
उपराष्ट्रपति नन्दबहादुर पुनले तामाङ सेलो गीत तथा टुङ्ना र डम्फुको सङ्गीत नेपालका सम्पूर्ण जातजातिको लोक भाकाको अभिन्न अङ्ग बनेको बताएका छन् । ‘तामाङ समुदायको महान् सांस्कृतिक पर्व तथा नयाँ वर्ष सोनाम ल्होसार–२८५८ को अवसरमा शुभकामना दिँदै उनले भाषा, संस्कार र संस्कृतिमा तामाङ समुदाय समृद्ध रहेको बताएका छन्।
काठमाडौँ उपत्यका आसपासका तामाङ समुदायको मौलिक भाषा, लिपि, संस्कृति, रीतिरिवाज, वेशभूषासहितको छुट्टै पहिचान रहेको स्मरण गर्दै उनले सोनाम ल्होसारले सम्पूर्ण नेपालीका बीच आपासी सद्भाव, सामाजिक एकता र भ्रातृत्व कायम गर्ने विश्वास व्यक्त गरेका छन्।
ल्होसार पर्व मान्यजनबाट टीका थाप्ने, आशिर्वाद लिने, खालुम, खाप्से, ड्यासिल, गुथुकजस्ता मौलिक परिकार खाने, जमघट, नाचगान गरेर मनाइने गरेको उल्लेख गर्दै उपराष्ट्रपतिले ल्होसारलाई आपसी सद्भाव, प्रेम, भ्रातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा पनि लिनुपर्ने बताएका छन्।
ल्होसारका अवसरमा देश–विदेशमा रहेका तामाङ दिदीबहिनी तथा दाजुभाइ र आम नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य, समृद्धि एवं उत्तरोत्तर प्रगतिको कामना व्यक्त गर्दै उनले विश्वव्यापी महामारी कोरोना भाइरस कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि सरकारद्वारा जारी नियमको पूर्णपालना गरेर पर्व मनाउन सबैमा अपिल गरेका छन्।
स्वास्थ्यका मापदण्ड पालना गर्दै मनाऔँ : प्रधानमन्त्री
प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष गरी तामाङ जातिले परापूर्वकालदेखि मान्दै आएको ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका तामाङ समुदायका नागरिकमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुको कामनासहित शुभकामना व्यक्त गरेका छन्।
उनले शुभकामना सन्देशमार्फत सामाजिक, सांस्कृतिक, जातीय र धार्मिक विविधताले सम्पन्न मुलुक नेपालका विभिन्न भाषा, धर्म, वर्ण, सम्प्रदाय, जातजातिका आ–आफ्ना विशिष्ट संस्कृति र परम्परा रहेको उल्लेख गरेका छन्। प्रधानमन्त्री देउवाले सदैव एकले अर्काको धर्म, भाषा, संस्कृति र परम्पराको सम्मान र आदर गर्ने हाम्रो आफ्नो विशिष्ट पहिचान रहेको उल्लेख गर्दै यी पर्वले नेपाली समाजमा सद्भावना बढाउँदै आएको बताएका छन्।
उनले कोभिड–१९ नियन्त्रणका लागि अवलम्बन गरिएका रणनीति प्रभावकारी देखिए पनि कोभिड–१९ को जोखिम कायमै रहेकाले जनस्वास्थ्य मापदण्डको पालना गर्दै यो पर्व हर्षाेल्लासपूर्वक मनाउन आग्रह गरेका छन्। प्रधानमन्त्री देउवाले यस पर्वले पारस्परिक सद्भाव र सहिष्णुको भावनालाई अझ प्रगाढ र सुदृढ बनाउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन्।
सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाडपर्व महत्वपूर्ण : सभामुख
सभामुख अग्निप्रसाद सापकोटाले सामुदायिक एकत्व, आपसी हित, भ्रातृत्व र सामाजिक एवं सांस्कृतिक ऐक्यबद्धता बढाउन नेपालका चाड पर्वले महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन्।
तामाङ समुदायको नयाँ वर्ष २८५८ एवं सोनाम ल्होसारको अवसरमा एक शुभकामना सन्देश दिँदै उनले भिन्न–भिन्न जात जातिले मनाउने पहिचानसहितका हाम्रा मौलिक चाडपर्वको संरक्षण र संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख गरेका छन्।
तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले मनाउने सोनाम ल्होसारको आफ्नै विशेषता र महत्व रहेको तथा चन्द्र पात्रोमा आधारित यो नयाँ वर्षसँगै आजदेखि बाघ वर्ष सुरु भएको छ ।
सभामुख सापकोटाले कोरोना भाइरसको महामारी कायम रहेकाले चाड पर्व मनाउँदा उच्च स्वास्थ्य सतर्कता अपनाउनुहुन सबैमा अपिल गरेका छन्। उनले यस पर्वले शान्ति, मित्रता, सद्भाव र राष्ट्रिय एकता मजबुत बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।

nijgadh-supermart-adz1200-630