प्रगतिशील पत्रकार सङ्घ नेपालको पहिलो राष्ट्रिय सम्मेलन, पोख्रेलकाे नेतृत्वमा समिति चयन
वि.सं.२०७९ चैत २८ मंगलवार ०८:४४

काठमाडौँ । प्रगतिशील पत्रकार सङ्घ नेपालको प्रथम राष्ट्रिय सम्मेलनबाट श्यामलाल पोख्रेल अध्यक्षमा निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न राष्ट्रिय सम्मेलनले पोख्रेललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।
त्यस्तै महासचिवमा प्रकाश थापा मगर, उपाध्यक्ष विनोद पौडेल, सचिव ताराप्रसाद शर्मा र गोपाल प्रसाद भट्टराई, कोषाध्यक्ष प्रज्ववल पहाडी चयन भएका छन् ।
त्यस्तै सचिवालय सदस्य महेश रिजाल, सदस्यहरूमा नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शङ्करप्रसाद पोख्रेल, तिलक गाउँले, मोहन बेलबासे, जुमानसिंह केसी, जितेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टङ्क अवस्थी, रमेश पौडेल, विनोद परियार, अमिर बास्काेटा, वैकल्पिक सदस्यहरूमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी, कुलदीप न्यौपाने, ४ रिक्त र सल्लाहकारहरूमा रामनारायण सुवेदी, सुमन अधिकारी, डबल बोगटी, वैरागी जेठा, शशि सापकोटा, ईश्वरी भण्डारी, भाषा शर्मा, किरण आचार्य समेतको निर्वाचन गरेको समाचार प्राप्त भएको छ।
प्रगतिशील पत्रकार सङ्घ, नेपालको पहिलो राष्ट्रिय सम्मेलन बुटवलमा भएको हाे । शुक्रवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्मेलनको उद्घाटन गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष केसीले राष्ट्र र राष्ट्रियताको लागि कलम चलाउन पत्रकारहरूसँग आग्रह गरे ।
उनले पत्रकारको हक हितको लागि आफूले निरन्तर सङ्घर्ष गर्ने पनि स्पष्ट पारे । अध्यक्ष केसीले देशको अवस्थाका बारेमा पार्टीको धारणा राख्दै सङ्घीयता केन्द्रमा सांसद, मन्त्री बन्न नसकेका कार्यकर्ताको व्यवस्थापन गर्न ल्याइएको बताउनुभयो । उहाँले जनताले सङ्घीयता खारेज गर्नुपर्ने नगरे सङ्घीयताले मुलुक नै खारेज गरिदिने चेतावनी पनि दिए ।

फरक प्रसङ्गमा अध्यक्ष केसीले आफूहरूले गठबन्धन गरिरहेका राजनीतिक दल काँग्रेस र माओवादीलाई राम्रोसँग चिनेको उल्लेख गर्दै देशको लोकतन्त्र रक्षाको विषयबाहेक अन्य विषयमा उनीहरूसँग गम्भीर मतभेद रहेको पनि स्पष्ट पारे ।
त्यस अवसरमा प्रगतिशील पत्रकार सङ्घको स्थापना गर्ने तीन जना संस्थापक सदस्यहरू सुमन अधिकारी, जीवन शाही र जगदीश ढकाललाई सम्मानित गरिएको थियो ।
सम्मेलनको उद्घाटन समारोहको अध्यक्षता संयोजक श्याम पोख्रेल, सञ्चालन सचिव प्रकाश थापामगर र स्वागत तिलक गाहाले गर्नुभएको थियो ।
वि.सं.२०७९ चैत २८ मंगलवार ०८:४४
















