कुष्ठ राेग नियन्त्रणबारे सरोकारवाला तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न
वि.सं.२०८० माघ १५ सोमवार १३:५३
काठमाडौं-स्वास्थ्य सेवा विभाग, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको आयोजनामा “सरोकारवाला तथा सञ्चारकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम” राजधानीमा सम्पन्न भएको छ ।
विश्व उपेक्षित उष्णप्रदेशीय रोग तथा ७१ औं विश्व कुष्ठरोग दिवसको संदर्भमा “उपेक्षित उष्णप्रदेशीय रोगको निवारण, सहकार्य र एकता हाम्रो उदाहरण” तथा “बिट लेप्रोसी” अर्थात “कुष्ठरोगलाई हराउनुहोस्” भन्ने नाराका साथ सम्बन्धित सबै सरोकारवालाहरूलाई ध्यानाकर्षण गराउन तथा यस सम्बन्धमा सचेतना जगाउनका लागि सो अन्तरक्रियाको आयोजना गरिएको हो ।
अन्तरक्रियामा विश्व उपेक्षित उष्णप्रदेशीय रोग सम्बन्धी कार्यक्रमको प्रस्तुतीकरण इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र प्रसाद मरासिनीले गरेका थिए भने कुष्ठरोगको वर्तमान अवस्था तथा कार्यक्रम सम्बन्धी प्रस्तुतीकरण कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखा प्रमुख डा. प्रशन्न नापितले गरेका थिए ।
अन्तरक्रियामा कुष्ठ प्रभावित व्यक्तिहरूको सफलताको कथा सम्बन्धी भिडियो समेत प्रदर्शन गरिएको थियो ।
सो अन्तरक्रियामा सहभागि व्यक्तित्वहरूले आफ्नो मन्तव्यका क्रममाः उपेक्षित उष्णप्रदेशीय रोग तथा कुष्ठरोग नियन्त्रण गर्न, निर्मुल पार्न तथा यसबाट प्रभावितहरू व्यक्तिहरूका लागि काम गर्न सरकारीस्तरबाट मात्रै सम्भव नहुने हुनाले यसका लागि सबै क्षेत्रको सहयोग तथा हातेमालोको आवश्यकता रहेकोमा जोडदिएका थिए । उनीहरुले यो दिवसले अब वर्षदिन भरि काम गर्नका लागि झक्झक्याई रहने धारणा राखेका छन् ।
अन्तरक्रियामा स्वास्थ्य क्षेत्रका सरकारी प्रतिनिधीहरू, उपेक्षित उष्णप्रदेशीय रोग तथा कुष्ठरोगको क्षेत्रमा काम गर्ने व्यक्तिहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधीहरू, कुष्ठ प्रभावित तथा अपाङ्गता भएका व्यक्तिहरू, सञ्चारकर्मीहरू लगायतको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा खुला छलफल सत्रमा सहभागिहरूले आ–आफ्नो विचार व्यक्त गर्नु भयो भने अन्तर्राष्ट्रिय क्षेत्रको तर्फबाट विश्व स्वास्थ्य संगठन नेपालका प्रतिनिधी डा. राजेश संभजिराओ पाण्डवले आफ्नो मन्तव्य व्यक्त गर्नुहुँदै “यसपालिको नाराले भने जस्तै यस क्षेत्रमा सफलता प्राप्त गर्नका लागि सबैको साथसहयोगको जरूरत” रहेको बताउनु भयो ।
सो अन्तरक्रियामास्वास्थ्य सेवा विभागका महानिर्देशक डा. संगिता कौशल मिश्राको अध्यक्षता तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा. टंक प्रसाद बाराकोटीको प्रमुख अभिभावकत्वमा सम्पन्न भएको हो ।
वि.सं.२०८० माघ १५ सोमवार १३:५३