आज वसन्त पञ्चमी, सरस्वतीको पूजाआराधना गरिँदै
जीवनलाई ऊर्जाशील बनाउने पर्व सरस्वती पूजा : राष्ट्रपति पौडेल
वि.सं.२०८० फागुन २ बुधवार ०७:१८

काठमाडौं–आज वसन्त पञ्चमी अर्थात् सरस्वती पूजा देशभर विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी मनाइँदै छ।
विद्याकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन्। सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन्।
आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने जनविश्वास छ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ। यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।
काठमाडौँ उपत्यकाका स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गरेको छ।
जीवनलाई ऊर्जाशील बनाउने पर्व सरस्वती पूजा : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले सरस्वती पूजा जीवनलाई सदैव ऊर्जाशील बनाइराख्ने र नवीन खोजतर्फ प्रेरित गरिरहने पर्वका रुपमा रहेको बताएका छन् ।
सरस्वती पूजा एवं वसन्त पञ्चमीका अवसरमा एक शुभकामना सन्देश जारी गर्दै उनले विद्यासँगको नाता र ज्ञानको परिपूर्तिका रूपमा आजका दिनले प्रेरणा प्रदान गर्ने बताएका हुन् ।
सरस्वतीलाई शिक्षा, ज्ञान र सङ्गीतकी देवीका रुपमा पुजिने बताउँदै राष्ट्रपति पौडेलले आजका दिन आफ्ना बालबालिकालाई विद्यालय भर्ना गरेर अक्षराम्भ गराउँदा विद्याकी देवी सरस्वतीको सदा कृपादृष्टि हुने जनविश्वास रहँदै आएको उल्लेख गरेका छन् ।
“सङ्गीतका पारखीका लागि सरस्वतीको साधना गर्ने प्रमुख दिन पनि वसन्त पञ्चमीलाई मानिँदै आइएको छ । नवीन कार्यको प्रारम्भ गर्न चाहनेले र लगनको साइत जुराउनुपर्ने शुभकार्यका लागि यस दिनलाई रोजी विवाह, व्रतबन्ध आदि गर्ने प्रचलन पनि रहिआएको छ”, राष्ट्रपति पौडेलले शुभकामनाम भनेका छन् ।
राष्ट्रपतिले वसन्त पञ्चमी पर्वले मुलुकको सामाजिक तथा सांस्कृतिक विविधताबीच एकता कायम गरी मौलिक धार्मिक संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्दै सबै नेपालीमा विद्याकी देवी सरस्वतीको कृपा रहिरहोस् भनी शुभकामना पनि व्यक्त गरेका छन् ।
आजका दिनलाई सरस्वती जन्मोत्सवको रुपमा पनि मनाइने उल्लेख गर्दै उनले वसन्त ऋतुको प्रारम्भ हुने र सूर्य उत्तरायण हुँदै जाँदा दिन लामो र रात छोटो हुँदै जाडोबाट क्रमशः न्यानो हुँदै जाने हुनाले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाएको उल्लेख गरेका छन् ।
राष्ट्रपति पौडेलले विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइने वसन्त पञ्चमी तथा सरस्वती पूजाको अवसरमा स्वदेश एवं विदेशमा रहेका नेपाली दिदीबहिनी, दाजुभाइ तथा सम्पूर्ण बालबालिकामा शुभकामना व्यक्त दिएका हुन् ।
वि.सं.२०८० फागुन २ बुधवार ०७:१८















