जीतपुरसिमरा : वडा अध्यक्षदेखि शिक्षक र क्याम्पस प्रमुखसम्म सहकारी सञ्चालक
वि.सं.२०८१ जेठ २० आइतवार २०:३०

बारा-सहकारी राेज्ने कि जनप्रतिनिधि भन्ने भएपछि जीतपुरसिमरा १२ का वडा सदस्य हाेमनाथ पण्डितले वडा सदस्यबाट राजिनामा दिएर डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्ष बने ।
जीतपुरसिमरा उपमहानगरपालिकामा जनप्रतिनिधिसहित राष्ट्रसेवकलाई सहकारी संस्थाहरुमा संचालक समिति र लेखा सुपरिवेक्षण समितिमा रहन नपाईने नियम कडाइ गरेपछि हाेमनाथले वडा सदस्य छाडे ।
१५ साउन २०८० मा जीतपुरसिमरा उपमहानगरपालिकाका उपमेयर एवम् नगर सहकारी समन्वय समितिका संयाेजक भाेलाप्रसाद अधिकारीकाे अध्यक्षतामा बसेकाे बैठकले यस्तो निर्णय गरेकाे थियाे ।
तर, अझै केही सहकारीमा भने वडा अध्यक्षदेखि शिक्षक र क्याम्पस प्रमुखसम्म सहकारी सञ्चालक रहेको पाईएकाे छ । जसलाई हटाउन भन्दै उपमहानगरपालिकाले ताकेता गरेकाे खुलेको छ ।
ती सहकारीमा १८ जेठ २०८१ देखि उपमहानगरपालिकाले स्पष्टीकरण पत्र काट्न थालेको छ ।
जसअनुसार जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नं. १६ का वडा अध्यक्ष हरिदेव खरेल, शिक्षक कुमार प्रसाद तिमल्सिना, डम्बर कुमार आले मगर, अनन्त प्रसाद अधिकारी छन् । उनीहरु महेन्द्रनगरस्थित जनहित उपभोक्ता सहकारी संस्थाका सञ्चालन हुन् ।
वडा अध्यक्ष खरेल जनहितका उपाध्यक्ष हुन् । शिक्षक तिमल्सिना सचिव, मगर सदस्य र अधिकारी लेखा संयाेजक हुन् ।
त्यसैगरि सिमरा कलेज प्रमुख शालिकराम अधिकारी सिमरास्थित संगालाे साकाेसका अध्यक्ष छन् ।
सिमरास्थित हातेमालो साकाेसमा तीन जना शिक्षक रहेको खुलेको छ । सञ्चालक समितिमा सचिव पदमा शिक्षक दिपकप्रसाद भट्ट र काेषाध्यक्ष पदमा बरुणप्रसाद गाैतम र सदस्यमा सुनिता चाैरेल रहेका छन् ।
सहकारी संस्थाहरुमा संचालक समिति र लेखा सुपरिवेक्षण समितिमा सहकारी संघसंस्थाको दर्ता तथा नियमन सम्बन्धी कार्यमा प्रत्यक्ष रुपमा संलग्न निर्वाचित वा मनोनयन हुने सार्वजनिक पदमा बहाल रहेको पदाधिकारी राष्ट्रसेवक सहकारी संस्थाको सञ्चालक समिति र लेखापरिवेक्षण समितिमा निर्वाचित वा मनोनित हुन सक्नेछैन भनि निर्देशन जारी गरेको थियाे ।
त्यसअघि सहकारी ऐन, २०७४ को दफा २३, दफा २५ को खण्ड (ज) र दफा ९५(५) एवं सहकारी नियमावली, २०७५ को नियम ७२ (३) र नियम ७६ (१) (झ) बमोजिम सहकारी विभागको मिति २०७९।०२।१२ को निर्णयानुसार सहकारी संघसंस्थामा सुशासन प्रवर्द्धनको लागि एकीकृत निर्देशन, २०७९ जारी गरिएको छ ।
वि.सं.२०८१ जेठ २० आइतवार २०:३०

















