सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त ! काे हुन् सतिश ?
वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:३६

बारा-जनमत पार्टीका सांसद सतिश सिंह मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहलाई शुक्रबार मुख्यमन्त्री नियुक्त गरेकी हुन् ।

संविधानको धारा १६८ को उपधारा २ बमोजिम सिंह मुख्यमन्त्री नियुक्त भएका हुन् । सिंहले जनमतका साथै नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादीका सांसदको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।
जसपा नेपालका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभामा विश्वासको मत गुमाएर पद मुक्त हुँदा प्रदेश प्रमुखले त्यही दिन नयाँ सरकार गठनका लागि बहुमतसहित दाबी पेस गर्न आज (शुक्रबार) सम्मको समय दिएकी थिइन् ।
नवनियुक्त मुख्यमन्त्री सिंहले केहीबेरमा शपथ लिनेछन् ।
काे हुन् सतिश ?
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका पूर्व अध्यक्ष रहेका सतिश सिंह गत स्थानीय निर्वाचनमा गाउँपालिकामा पराजित भएका थिए । त्यसपछि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छोडेर जनमतमा प्रवेश गरेका उनी सप्तरी २ ‘क’ बाट प्रदेश सभा सदस्य चुनिएका थिए ।
मधेस प्रदेशका संसदीय दलका नेता महेश यादव भए पनि जनमतले सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको छ । जनमतको बैठकमा यादवभन्दा पनि राजपूत समुदायबाट मुख्यमन्त्री बनाउनुपर्ने आवाज उठेपछि दलका नेता छोडेर सिंहलाई मुख्यमन्त्री बनाउन लागिएको हो ।
वि.सं.२०८१ जेठ २५ शुक्रवार १२:३६
















