पत्रकार एलबी विश्वकर्माको निधनबारे छानविन गर्न काउन्सिलको माग
वि.सं.२०७८ माघ ७ शुक्रवार १८:११

काठमाडौ : पत्रकार एलबी विश्वकर्माको निधनको विषयमा निजामती कर्मचारी अस्पतालले छानविन गरी दोषीलाई कारबाही गर्नुपर्ने प्रेस काउन्सिल नेपालले माग गरेको छ ।
टिभि टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको बिहीवार पाटन अस्पतालमा निधन भएको थियो । उपचारका लागि निजामति कर्मचारी अस्पताल पुगेका विश्वकर्मालाई थोरै पैसा अपुग भएका कारण सो अस्पतालले भर्ना नगरी पाटन अस्पताल रिफर गरेको भन्दै आफन्तजनले ?उनको निधनको दोष निजामती कर्मचारी अस्पताललाई दिएको समाचारहरु बाहिरिएका छन् ।
यसै सन्दर्भमा प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत नेतृत्वको टोलीले शुक्रवार अस्पताल प्रशासन पुगी अस्पतालले गरेको लापरबाहीको सम्बन्धमा छानविन गरी दोषीउपर कारबाहीको माग गरेको हो । अध्यक्ष बस्नेतले अस्पतालले सत्यतथ्य छानविन गरी दोषिलाई कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने विषयमा अस्पताल प्रशासन सँग कुरा भएको बताए ।
उनले भने– ‘हाम्रो एलबिजीको मृत्यु सन्दर्भमा विभिन्न कुराहरु बाहिर आए । मध्यराती सिभिल हस्पिटलमा थोरै पैसा बुझाउन नसकेका कारणले पनि उहाँको समयमा उपचार भएन र मृत्यु भयो भन्ने विषयमा कुरा उठेको हुना?ले यो विषयमा ध्यानाकर्षण गराउन हामी त्यहाँ पुगेको थियौं । यदि अस्पतालको लापरबाही हो भने त्यो कुरा मिडियामा आएको छ, त्यो विषयमा छानविन होस् । र दोषिमाथि कारबाही होस् । पीडितलाई क्षतिपूर्ति दिलाउनका लागि हामी प्रेस काउन्सिल नेपालको टिमले आज अस्पताल प्रशासनमा कुरा राखेका छौँ । उहाँहरु गम्भिर हुनुहुन्छ । हामी केही दिन हेर्छौ, उहाँहरुले कस्तो खालको छानविन गर्नुहुन्छ, प्रतिवेदन बुझाउनुहुन्छ र दोषीलाई कारबाही गर्नुहुन्छ ।’
अध्यक्ष बस्नेतले अस्पतालले के–कस्तो प्रक्रिया अगाडी बढाउँछ केही दिन पर्खने र सोही अनुसार प्रेस काउन्सिलले कदम चाल्ने बताए । अछामको रामारोशन गाउँपालिका ५ स्थायी घर भएका २६ वर्षीय पत्रकार एलबी विश्वकर्मा काठमाडौंमा बसी सक्रिय पत्रकारिता गरिरहेका थिए ।
वि.सं.२०७८ माघ ७ शुक्रवार १८:११

















