असारदेखि भदौसम्म नदीजन्य पदार्थ ननिकाल्न नगरपालिकाको आग्रह, अटेरे गरे कारबाही गर्ने चेतावनी
वि.सं.२०८२ असार ७ शनिवार ११:०९

बारा–निजगढ नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवा, माटो, चट्टान लगायतका नदीजन्य पदार्थको उत्खनन्, संकलन तथा ओसारपसार कार्यमा आगामी असार १ गतेदेखि भाद्र महिनाको अन्त्यसम्म पूर्ण रोक लगाउने निर्णय गरेको छ ।
यस निर्णय ढुङ्गा, गिट्टी, बालुवा उत्खनन्, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड, २०७७ र निजगढ नगरपालिका नदीजन्य पदार्थ उत्खनन्, संकलन तथा बिक्री वितरण सम्बन्धी कार्यविधि, २०७९ को दफा ६ को उपदफा १४ अनुसार गरिएको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र बहादुर अर्यालद्वारा जारी सूचनामा नगर क्षेत्रभित्र रहेका सबै नदी, खोला र खोल्सीहरुबाट कुनै पनि किसिमको उत्खनन्, संकलन वा ओसारपसार नगर्न सबै सम्बन्धित पक्षलाई आग्रह गरिएको छ ।
सूचनामा अगाडि भनिएको छ, “यस सूचनाको उल्लङ्घन गरी कार्य गरेको पाइएमा मधेश प्रदेश आर्थिक ऐन, २०८१ को अनुसूची ८ तथा निजगढ नगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम कानूनी कारबाही हुने छ।”
नगरपालिकाले वातावरणीय सन्तुलन र प्राकृतिक स्रोतको संरक्षणलाई ध्यानमा राख्दै यस्तो कदम चालेको जनाएको छ।
वि.सं.२०८२ असार ७ शनिवार ११:०९
















