निजगढमा बसको ठक्करबाट गम्भीर घाइते वृद्धको उपचारको क्रममा निधन
वि.सं.२०८२ असार ६ शुक्रवार १०:१०

बारा-बारा जिल्लाको निजगढ नगरपालिका–९ स्थित लच्का अली ग्यारेज नजिक भएको सवारी दुर्घटनामा एक पुरुषको ज्यान गएको छ।
बिहीबार राति करिब ११:३० बजे पूर्व–पश्चिम राजमार्गमा सिराहाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०३–०१ख–३३१३ नम्बरको यात्रुवाहक बसले एक पुरुषलाई ठक्कर दिएको थियो।
प्रारम्भमा ठक्करबाट गम्भीर घाइते भएका ती पुरुषको परिचय खुल्न नसकेको भए पनि विहिबार राती १२:४५ बजे कलैया प्रादेशिक अस्पतालमा मृत्यु भएको घोषणा गरिएको छ। मृतकको परिचय जितपुर सिमरा उपमहानगरपालिका–१६ निवासी ७८ वर्षीय सन्तबहादुर गुरुङको रूपमा खुलेको छ।
घटनापछि घाइते गुरुङलाई तत्काल निजगढको प्रसूति अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि कलैया पठाइएको थियो। अवस्था गम्भीर रहेकाले चिकित्सकको टोलीले प्रयास गरे पनि बचाउन सकिएन।
ईलाका प्रहरी कार्यालय निजगढका अनुसार दुर्घटनामा संलग्न बस र चालक राजेन्द्र बिमलीलाई नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
वि.सं.२०८२ असार ६ शुक्रवार १०:१०
















