पूर्वमन्त्री पौडेलद्वारा संसद पुनर्स्थापना विरुद्ध अभिव्यक्ति : “अब नयाँ जनादेशमा जानु पर्छ”
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १८:०६

बारा-नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले संसद पुनर्स्थापनाको चर्चा निरर्थक भएको बताएका छन् । उनले अहिलेको परिस्थितिमा पुरानो संसद पुनर्स्थापना गरेर “वाडीचुडी खाऊ, मिलीजुली बसौं” गर्ने शैली दोहोर्याउनु नपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले लेखेका छन् — “शिक्षा ऐन नदिएर सारा शिक्षकहरूको अपमान भयो, निजामती ऐनमा ठुलो खेलो गरी कर्मचारीहरूलाई हैरान बनाइयो, कुलिङ पिरियडमा टिक्न खोज्नेहरूले राज्यलाई अपमानित पारे, प्रहरी ऐन बनाउन लाज मानेर हराउनेहरू अहिले संसद खोज्दै हिँडिरहेका छन् ।”
उनले थप लेखेका छन्, “भ्रष्टाचारीलाई कारबाही गर्न नसक्ने, गरिब जनताका लागि सोच्न नजान्ने, राष्ट्रिय समस्यामा आँखा चिम्लिने, विद्रोह निम्त्याएर गायब हुनेहरूका लागि संसद पुनर्स्थापना गर्नुको अर्थ छैन । अब नयाँ जनादेशमा जानु पर्छ, चुनावको वातावरण बनाउनुपर्छ र जनतासँग हात जोडेर माफी माग्दै अघि बढ्नुपर्छ ।”
पौडेलको यो अभिव्यक्ति पछिल्लो समय मुलुकमा संसद पुनर्स्थापना गर्ने विषयमा भइरहेको राजनीतिक बहसको सन्दर्भमा आएको हो । उनका अनुसार अबको मार्ग “जनतामुखी निर्णय र नयाँ जनादेश” नै हो ।
वि.सं.२०८२ कात्तिक १४ शुक्रवार १८:०६

















