skip this farak Kura Pravakar

तीन दिने ‘ख्वपको पहिचान’ बारे शिक्षकहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न

1.19K shares
oil-nigam-amlekhgunj-adv.jpeg

भक्तपुर-भक्तपुर नगरपालिकाको आयोजना बुधबार देखि शुक्रबारसम्म तीन दिने परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ विषय माथि शिक्षकहरुबीच अभिमुखीकरण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ ।

भक्तपुर नगरपालिकाका प्रशासकीय अधिकृत वसन्त भट्टराईले संघीयताको उपहारको रूपमा भक्तपुर नगरपालिकाले स्थानीय भाषा, संस्कृति तथा परम्परा सहितको स्थानीय पाठ्यक्रम तयार गरि देशकै नमुना स्थानीय सरकार रहेको बताउँदै परम्परागत शिक्षण सिकाईलाई बदलिँदो व्यवस्था र प्रविधि अनुसार विद्यार्थी समक्ष प्रयोग र व्यवहारिक बनाउन जोड दिनुभयो ।

कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिका वडा नं। ५ का वडाध्यक्ष एवम् स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले स्थानीय विषय र क्षेत्रले समग्र देशको परिवर्तनमा भूमिका खेले तापनि केन्द्रीय स्तरमा त्यसको चर्चा परिचर्चा नहुने बताउँदै परिमार्जित स्थानीय पाठ्यक्रममा रहेको एकाइ १ र २ को ख्वपको इतिहास, भूगोल र भौगोलिक अवस्थासँगै भक्तपुरको राजनीतिक र सामाजिक आन्दोलनको क्रममा भएका भर्पाई आन्दोलन र साँढे धपाउने आन्दोलनबाट देशको राजनीतिप्रति विद्यार्थीलाई सचेत गराउने भन्नुभयो ।

स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका सदस्य उद्वव सुजखुले परिमार्जित स्थानीय पाठ्यक्रमको एकाइ ३ को स्थानीय थर जाति र एकाइ ४ को स्थानीय बोलिचाली र लिपी अन्तर्गत बागमती प्रदेशको सरकारी कामकाजको भाषा नेवारी सँगै तामाङ भाषाको प्रयोग सम्बन्धि र बहुआयामिक व्यक्तित्व एवम् वामपन्थी नेता नारायणमान बिजुक्छेको राजनीति तथा साहित्यिक योगदानबारे विद्यार्थीलाई जरुरी रहेको बताउनुभयो ।

स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका अर्का सदस्य सिद्धिरत्न शाक्यले स्थानीय पाठ्यक्रमको परिवर्तन र स्वरुप अन्तर्गत एकाइ ५ मा अभिभावकको माग बमोजिम शील स्वभावजन्य व्यवहारिक शिक्षा अन्तर्गत नैतिक शिक्षालाई समेटिँदा समग्र पाठ्यक्रमको २० प्रतिशतसम्म परिमार्जन र विद्यार्थीको उमेर तथा सिकाई क्षमता हेरेर ८० प्रतिशत विषयहरू हेरफेर भएको बताउँदै एकाइ ६ को स्थानीय विविध संस्कृति तथा एकाइ ७ को प्रचलित स्थानीय संस्कार विषय अन्तर्गत गुरु पूर्णिमामा वेदव्याससँगै असार पूर्णिमाका दिन बौद्ध गुरुले सुरुवात गरेको धर्म प्रवर्तक वर्ष पनि गुरु पूर्णिमाको रूपमा शिक्षण गर्न जोड दिनुभयो ।

स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका अर्का सदस्य राजेन्द्र श्रेष्ठले एकाइ ८ को स्थानीय सम्पदा र एकाइ ९ को स्थानीय व्यवसाय, सीप र प्रविधिको विषयलाई प्रयोगात्मक र व्यवहारिक रूपमा प्रयोग गर्न जोड दिँदै स्थानीय पाठ्यक्रम निर्माण र परिमार्जनको लागि भएको चरणबद्ध प्रक्रियाको बारेमा जानकारी दिनुभयो ।

स्थानीय पाठ्यक्रम निर्माण तथा परिमार्जन कार्यदलका सदस्य रोशनराज तुईतुईले एकाइ १०,११ तथा १२ अन्तर्गत स्थानीय खेल, स्थानीय पर्यटन, उपचार विधि तथा मूल्यांकन पद्धति बारे जानकारी दिँदै नयाँ क्षेत्र तथा विषयको रूपमा रहेको शील स्वभावजन्य व्यवहारिक शिक्षामा सामाजिक सञ्जालको सकारात्मक र नकारात्मक पक्षबाट सचेत तथा आफ्नो अधिकार सँगै गर्नुपर्ने काम कर्तव्यबोध समेत गर्नुपर्ने बताउनुभयो ।

ख्वप अस्पतालका सुपरिटेन्डेन्ट अफिसर कमल केशरी राजलवटले विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरु जङफुड, फास्टफुड जस्ता तयारी खानेकुराको बढी सेवन गर्दा शरीरको लागि आवश्यक पर्ने आइरनजन्य शक्तिको कमी भएकोले शरीरको वृद्धि र विकासमा समस्या आउने बताउँदै १० वर्षदेखि १९ वर्ष उमेर समूहका विद्यार्थीलाई आइरन चक्की खान र खुवाउन सल्लाह दिनुभयो ।

भक्तपुर नगरपालिकाले परिमार्जित स्थानीय पाठ्यक्रम ‘ख्वपको पहिचान’ विषयमा पहिलो दिन बुधबार कक्षा १, २ र ३ दोस्रो दिन कक्षा ४ र ५ तथा तेस्रो दिन कक्षा ६,७ र ८ मा अध्यापन गर्ने शिक्षकहरुका लागि अभिमुखीकरण कार्यक्रम भएको थियो

तीन दिने अभिमुखीकरणमा सामुदायिक र विभिन्न संस्थागत विद्यालयका शिक्षकशिक्षिकाहरु पहिलो दिन ८५ जना, दोस्रो दिनको ७१ जना तथा अन्तिम दिन ८० जना उपस्थिति रह्यो ।

nijgadh-supermart-adz1200-630