जेनजीमाथि आक्रमण गर्ने अर्विन्द साह पक्राउ
वि.सं.२०८२ मंसिर ४ बिहीवार २१:१०

बारा-जितपुरसिमरा उपमहानगरपालिका– २ काे सिमराचोकमा बुधबार भएको युवा संघ र जेन–जी समूहबिचकाे झडपमा संलग्न रहेको आरोपमा बारा प्रहरीले थप एकजनालाई नियन्त्रणमा लिएको छ । बारा प्रहरीले घटनामा संलग्न जीतपुरसिमरा उपमहानगरपालिका–२ का ३८ वर्षीय अर्विन्द साहलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सन्तोष तामाङले साह पक्राउ गरेको पुष्टि गरे । तामाङका अनुसार सिमरा झडप प्रकरणमा बारा प्रहरीले साहसहित तीनजनालाई नियन्त्रणमा लिए छ ।
बारा प्रहरीले विहीबार जीतपुर सिमरा उपमहानगरपालिकाका २ जना वडाध्यक्षलाई पक्राउ गरि उनीहरु विरुद्ध ७ दिनको म्याद थप भएको छ । बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष धनबहादुर श्रेष्ठ र वडा नम्बर ६ का अध्यक्ष कैमद्विन अंसारीविरुद्ध ७ दिनको म्याद थप भएको जानकारी दिए ।
झडपपछि इलाका प्रहरी कार्यालय सिमरामा दर्ता गरिएको किटानी जाहेरीमा सम्राट उपाध्यायले आफूलाई नियोजित रूपमा लक्षित गरी आक्रमण गरेको उल्लेख गरेका थिए। घटनामा अन्य केही व्यक्तिहरूको पनि संलग्नता हुन सक्ने प्रहरीकाे भनाइ छ।
वि.सं.२०८२ मंसिर ४ बिहीवार २१:१०
















