वीरगञ्जमा कर्फ्यु दिउँसो १ बजेसम्म लम्ब्याइयो, दुई समुदायबीचको तनावपछि सुरक्षा कडाइ
वि.सं.२०८२ पुस २२ मंगलवार ०९:२०

वीरगञ्ज—धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच तनाव चर्किएपछि वीरगञ्जमा जारी कर्फ्यु आदेश आज दिउँसो १ बजेसम्म लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साका अनुसार सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि जारी गरिएको कर्फ्यु थप समयका लागि निरन्तरता दिइएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै पनि किसिमका भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ।
प्रशासनले कर्फ्यु अवधिमा अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन सर्वसाधारणलाई आग्रह गरेको छ। अत्यावश्यक अवस्थामा बाहिर निस्कनु परेमा नजिकको सुरक्षाकर्मीसँग समन्वय गर्न वा आपतकालीन नम्बर १०० मा फोन गरी अनुमति लिएर मात्र आवतजावत गर्न अनुरोध गरिएको छ।
कर्फ्यु आदेश अवधिभर एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानवअधिकारकर्मी तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा यात्रा गर्ने यात्रुहरूको आवागमनमा सुरक्षाकर्मीहरूले सहजीकरण गर्ने प्रशासनले जनाएको छ।
धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गर्दै आएका छन्। प्रदर्शन चर्किँदै गएपछि वीरगञ्जको अवस्था अशान्त बन्दै गएको जनाइएको छ। प्रशासनले शान्ति, सुरक्षा र कानून व्यवस्था कायम गर्न सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ।
वि.सं.२०८२ पुस २२ मंगलवार ०९:२०

















