skip this

आज राष्ट्रियसभा निर्वाचन : कहाँ-कहाँ हुँदैछ मतदान ?

795 shares
oil-nigam-amlekhgunj-adv.jpeg

काठमाडौं : आज राष्ट्रियसभा सदस्यको लागि निर्वाचन हुँदैछ । १९ सिटका लागि सात प्रदेशका १४ मतदान केन्द्रमा मतदान हुन लागेको हो । निर्वाचन आयोगले प्रदेश १ मा दुई र अन्य ६ वटा प्रदेशमा एकएक मतदानस्थलभित्र दुईदुई वटा मतदान केन्द्र बनाएको छ ।
बुधबार बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान हुने निर्वाचन आयोगले जनाएको छ । आयोगका अनुसार प्रदेश १ मा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष एवं नगरपालिका प्रमुख र उपप्रमुखले प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेश सभा सदस्यका लागि बाली संरक्षण प्रयोगशालामा मतदानस्थल तोकिएको छ ।
मधेस प्रदेशमा  महेन्द्रनारायण निधि भवन, बागमती प्रदेशमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशमा प्रदेश निर्वाचन कार्यालय पोखरा, लुम्बिनी प्रदेशमा कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशमा प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेशसभा भवन, धनगढीमा मतदान हुँदैछ ।
राष्ट्रिय सभाका १९ सांसदको फागुन २० गते पदावधि सकिँदैछ । पदावधि सकिनु भन्दा एक महिना अगाडि नै चुनाव हुन लागेको हो ।
राष्ट्रियसभा निर्वाचनमा सात प्रदेशबाट दुई हजार २५ जनाले मतदान गर्नेछन्। चुनावमा पाँच सय ३२ जना प्रदेशसभा सदस्य र १४ सय ९३ जना स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । राष्ट्रिय सभामा रिक्त १९ पदका लागि ४३ जनाको उम्मेदवारी परेको छ ।
राष्ट्रियसभा चुनावमा सत्ता गठबन्धनका पाँच दलले संयुक्त उम्मेदवारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले मधेस प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)सँग सहकार्य गरे पनि अन्य प्रदेशमा एकल उम्मेदवारी दिएको छ। राष्ट्रियसभा चुनावलाई सत्ता गठबन्धन र प्रतिपक्षी दल एमालेको लडाइँको रुपमा हेरिएको छ ।
महामारीको समय भएकाले मतदानका लागि स्वास्थ्य मापदण्ड लागू भएको आयोगले जनाएको छ। आयोगले लागू गरेका सम्पूर्ण स्वास्थ्य मापदण्ड पूरा गर्न सबै मतदातालाई अनुरोधसमेत गरेको छ ।

 

nijgadh-supermart-adz1200-630