निजगढमा सहकारी सञ्चालन व्यवस्थापन सम्बन्धी एकदिने तालिम सम्पन्न
वि.सं.२०८२ चैत १९ बिहीवार २१:०५

निजगढ-निजगढ नगरपालिकाको आयोजना तथा सहकारी दिवस सञ्चालन तथा व्यवस्थापन समितिको व्यवस्थापनमा सहकारी सञ्चालन व्यवस्थापन सम्बन्धी एकदिने तालिम कार्यक्रम सम्पन्न भएको छ ।
शुभकार्य बैंक्वेट प्रा.लि.मा आयोजित उक्त तालिम कार्यक्रममा नगर प्रमुख सुरथ पुरी, उप–प्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सूर्य प्रसाद गौतम, प्रशासन प्रमुख अजय कुमार उप्रेतीलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।
साथै नगरपालिकाका वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, पत्रकारहरू, विभिन्न सहकारी संस्थाका अध्यक्ष, व्यवस्थापक, ऋण संयोजक, लेखा संयोजक, व्यवस्थापन समितिका सदस्य तथा कर्मचारीहरूको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको सहजिकरण सहकारी शाखा प्रमुख सुस्मा फुयालले गरेकी थिईन् ।
कार्यक्रममा सहकारी संस्थाहरूको प्रभावकारी सञ्चालन, व्यवस्थापन सुधार, वित्तीय अनुशासन तथा सुशासनका विषयमा छलफल तथा प्रशिक्षण दिइएको थियो। सहभागीहरूले सहकारी क्षेत्रलाई अझ सुदृढ र पारदर्शी बनाउन यस्ता तालिमहरू महत्वपूर्ण हुने धारणा व्यक्त गरेका थिए ।
नगर प्रमुख पुरीले सहकारीहरू स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै तिनको व्यवस्थापनमा सुधार ल्याउन नगरपालिका प्रतिबद्ध रहेको बताए। कार्यक्रममा उपस्थित सरोकारवालाहरूले सहकारी क्षेत्रको विकासका लागि सहकार्य र समन्वय आवश्यक रहेकोमा जोड दिएका थिए ।
तालिम कार्यक्रम सहकारी क्षेत्रको क्षमता अभिवृद्धि तथा दीगो विकासमा टेवा पुर्याउने विश्वास व्यक्त गर्दै सम्पन्न भएको छ ।
वि.सं.२०८२ चैत १९ बिहीवार २१:०५
















