‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनले सबै नेपाली स्तब्ध : प्रचण्ड
वि.सं.२०७९ असोज ३० आइतवार १६:३२

काठमाण्डौं–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको निधनले सबै नेपालीलाई स्तब्ध बनाएको बताएका छन् ।
ललितपुर महानगरपालिका कार्यालय परिषरमा ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको पार्थिव शरिरमा श्रद्धाञ्जली दिन पुगेका प्रचण्डले सत्यमोहन जोशीका नेपाली भाषा, साहित्य र संस्कृतिका धरोहर भएको बताएका छन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले सत्यमोहन जोशीको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन् ।
‘शताब्दी पुरुष’ सत्यमोहन जोशीको आईतबार बिहान १०३ वर्षको उमेरमा निधन भएको थियो ।
‘निधनको खबरले हामी सबै नेपालीलाई स्तब्ध बनाएको छ,’ प्रचण्डले भने–नेपाली कला, साहित्य र भाषा संस्कृतिलाई नेपाल र विश्वभर चिनाई स्थापित गर्न उहाँले गर्नुभएको योगदान सम्पूर्ण नेपालीका लागि चीर स्मरणीय रहने छ ।’

प्रचण्डले १०३ वर्षको उमेरमा पनि जोशीको सामाजिक क्रियाशीलता विश्वभरिका मानव समुदायलाई उत्पे्ररणाको श्रोत बनेर रहने समेत बताएका छन् । ‘नेपाल सरकार र नेपाली जनताले उहाँको योगदान र क्रियाशीलताको सदा उच्च सम्मान गरिरहने छन् भन्ने मैले विश्वास लिएको छु, प्रचण्डले भने ।
वि.सं.२०७९ असोज ३० आइतवार १६:३२

















