विदेश सयरमा मन्त्री ! वनमन्त्री यादव अमेरिका र पर्यटन मन्त्री क्यानडा उडे
वि.सं.२०७९ असोज १० सोमवार १३:४१

काठमाडौं- सरकारका दुई जना मन्त्री एकैसाथ विदेश प्रस्थान गरेका छन् । निर्वाचनकाे उम्मेदवार छनाैटकाे अन्तिम रस्साकस्सी चलेका बेलामा सरकारमा सहभागी जसपाका नेता प्रदिप यादब र एकीकृत समाजवादीका जीवन श्रेष्ठ विदेश जान लागेका हुन् ।
यादब सरकारमा वन तथा वातावरणमन्त्री छन् भने श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रहेका छन् ।
वन मन्त्री अमेरिका
प्रदीप यादव ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् ।
यही असोज ११ गतेदेखि १५ गतेसम्म सञ्चालन हुने उक्त ग्लोबल मिथेन क्लाइमेट क्लीन एयर फोरमको कार्यक्रममा सहभागी हुन मन्त्री यादव सरकारका तर्फबाट गए राति अमेरिका प्रस्थान गरेका हुन् ।
अमेरिकी सरकारको निम्तोमा त्यहाँ जानुभएका मन्त्री यादवले नेपालको प्रतिनिधित्व गर्दै मिथेन ग्यास उत्सर्जन न्यूनीकरण गर्न राष्ट्रहरुले कस्ता प्राविधिक नीति बनाउने र मिथेनको प्रभावलाई न्यूनीकरण गर्दै यस्को प्रयोग कसरी गर्नेलगायतका विषयमा छलफल गर्ने उनको सचिवालयले जनाएको छ ।
यसैगरी उनले मिथेन र अन्य अल्पकालीन जलवायु प्रदूषणलाई कम गर्नका लागि विश्वव्यापीरुपमा भइरहेका उच्चस्तरीय प्रयास, विकसित मुलुकले यसको न्यूनीकरणका लागि उठाएका कदमका विषयमा पनि छलफल गर्नुहुने बताइएको छ ।
पर्यटन मन्त्री क्यानडा प्रस्थान
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को ४१ औं त्रैवार्षिक महासभामा भाग लिन क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा भोलिदेखि सुरु हुने महासभामा १ सय ९३ देशका मन्त्री तथा उच्चपदस्थ अधिकारीहरू सहभागी हुनेछन् ।
सम्मेलनमा मन्त्री श्रेष्ठले उड्डयन सुरक्षा क्षमता अभिवृद्धिमा नेपालले गरिरहेको प्रयासबारे विश्व समुदायलाई जानकारी गराउनेछन् । साथै उनले हवाई सम्पर्क विस्तार, विमानस्थल स्तरोन्नति तथा नयाँ विमानस्थल निर्माण लगायत नेपालले उड्डयन क्षेत्रमा हासिल गरेका उपलब्धिबारे पनि महासभालाई जानकारी गराउनेछन् ।
महासभामा पर्यावरण संरक्षण, उड्डयन सुरक्षा र सहजीकरण, उड्डयन क्षमता र दक्षता अभिवृद्धिका साथै हवाई यातायात र आर्थिक विकास लगायत उड्डयन नीति, रणनीति तथा यस क्षेत्रमा रहेका समस्या समाधानबारे छलफल हुनेछ । महासभा अक्टोबर ७ सम्म चल्नेछ ।
वि.सं.२०७९ असोज १० सोमवार १३:४१

















