एनआरएनएद्वारा साउदीमा बिचल्लीमा परेका ६ युवाको उद्धार
वि.सं.२०७८ माघ १४ शुक्रवार २२:२६

काठमाडौं : रोजगारीको लागि साउदी पुगेका ६ नेपाली युवा बिच्चलीमा परेपछि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उद्धार गरेर स्वदेश फर्काएको छ ।
विभिन्न कारणले अवैधानिक हैसियतमा पुगेका उनीहरुलाई संघको पहलमा स्वदेश फर्काइएको हो । संघका उपाध्यक्ष तथा वैदेशिक रोजगार कल्याणकारी विभागका संयोजक डा. बद्री केसीका अनुसार आवासीय अनुमतिपत्र नवीकरण हुन नसक्दा उनीहरु साउदीमा बन्दी जीवन बिताउन बाध्य थिए ।
भिसाविहीन भइ अलपत्र परेका ताप्लेजुङका यज्ञप्रसाद विष्ट, सिन्धुपाल्चोकका एकराज तामाङ, झापाका मदन कुमार उप्रेती, काभ्रेपलाञ्चोकका शंकर बिक,सप्तरीका जितेन कुमार मण्डल र सुनिल कुमार यादवलाई शुक्रबार बिहान उद्धार गरी स्वदेश फर्काइएको उनले बताए । भनेजस्तो सेवासुविधा नपाएपछि उनीहरुले गर्दै आएको कम्पनी छोडेर अन्यत्र भागेका थिए।
राम्रो कमाइ हुने प्रलोभनमा परी कम्पनी छोडेका उनीहरु त्यसपछि भने थप समस्यामा परेका थिए । ‘डेढ सालमा पनि ऋण तिर्न नसकेपछि घरबाट आमाबुवाले कराइरहे। अन्यत्र राम्रो कमाइ हुन्छ भनेर कम्पनी छोडेर भागियो। तर,उल्टै दुःख पाइयो,’सप्तरीका जितेन कुमार मण्डलले भने ।
वि.सं.२०७८ माघ १४ शुक्रवार २२:२६
















