राप्रपा पदाधिकारी बैठकमा स्थानीय निर्वाचनको योजना, थापाबारे छलफल नै भएन
वि.सं.२०७८ माघ २७ बिहीवार १७:३१

काठमाडौँ। राप्रपाको पदाधिकारी बैठकले देशव्यापी संगठन विस्तार गर्ने निर्णय गरेको छ। बिहीबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा पार्टीका निवर्तमान अध्यक्षद्वय पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनी, पदाधिकारीहरू र प्रदेश कार्य समितिका अध्यक्षहरूको उपस्थिति थियो। महामन्त्री भुवन पाठकले बैठकमा आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीलाई सफलता हासिल गर्न विशेष कार्ययोजना पेस गरेका थिए।
जसअनुसार पार्टीको संगठन सुदृढ र क्रियाशील तुल्याउने, सबै स्थानीय तहमा उमेदवार खडा गर्ने, पार्टीको नीति, विचार, सिद्धान्त र कार्ययोजनाबारे आमजनतालाई जागरुक गराउन देशव्यापी घरदैलो कार्यक्रम सञ्चालन गर्ने, फागुन महिनालाई प्रशिक्षणको महिना बनाइने छ।
पार्टीको केन्द्रीय, प्रदेश र जिल्ला तहमा प्रशिक्षण सञ्चालन गर्ने, जिल्ला कार्यसमिति र स्थानीय तह अन्तर्गतका समितिको सिफारिसमा फागुन मसान्तभित्र उमेदवार छनौट गर्ने, देशव्यापी पार्टी प्रवेश र कोणसभा सञ्चालन गर्ने, पार्टीको सम्पूणर् शक्ति स्थानीय तहको निर्वाचनमा परिचालन गर्ने कार्ययोजना पेस गरिएको छ।
बैठकले समान विचार भएकाहरूसँग एकता, मोर्चा वा सहकार्यका लागि भइरहेका प्रयासको समीक्षा गर्दै जारी वार्तालाई निरन्तरता दिने, संवाद सुरु नभएका व्यक्ति, समूह र दलसँग एकता, मोर्चा वा सहकार्यका लागि बैठकले आह्वान गरेको छ।
बैठकमा निर्वतमान अध्यक्ष कमल थापाको बहिर्गमनबारे छलफल नै नभएको बताइएको छ।
राप्रपा स्थापनाको उद्देश्य, हालै सम्पन्न महाधिवेशनले पुनः प्रतिबद्धता गरेको राजसंस्था, हिन्दुराष्ट्रको पुनःस्थापना, संघीयताको खारेजी र सुदृढ स्थानीय तह लगायतका सैद्धान्तिक अवधारणा र कार्यदिशामा अविचलित रहेको बैठकको निष्कर्ष छ। राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक ११ फागुनमा बस्ने निर्णय भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए। –न्युज कारखाना
वि.सं.२०७८ माघ २७ बिहीवार १७:३१

















