एमसीसीको नाममा गठबन्धन भत्काउने प्रयास हुँदैछ : सांसद पौडेल
वि.सं.२०७८ फागुन ७ शनिवार १८:४७

काठमाडौँ । राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष, प्रवक्ता तथा प्रतिनिधि सभाकी सांसद दुर्गा पौडेलले एमसीसीको नाममा गठबन्धन भत्काउने प्रयास भइरहेको बताउनुभएको छ ।
२०७८ फागुन ७ गते राजमो बागमती प्रदेशको प्रथम सम्मेलनमा प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै उनले यस्तो दाबी गर्नुभएको हो ।
‘गठबन्धन नभत्किए आगामी चुनावमा एमालेको स्थिति दयनीय हुन्छ भन्ने एमालेले बुझेको छ’ उनले भने– ‘त्यसकारण उनीहरू जसरी पनि गठबन्धन भत्काउन लागिपरेका छन् ।’
एमसीसीको विषयलाई लिएर केही दिनअघि एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवानै बालकोट पुगेको बताउँदै उनले भने– ‘त्यहाँ ओलीले गठबन्धनलाई भत्काएर आफूलाई प्रधानमन्त्री दिए एमसीसी पारित गर्ने वचन दिएको जानकारी हुन आएको छ ।’
सम्बोधनको क्रममा उहाँले एमालेले काङ्ग्रेसका केन्द्रीय सदस्य तथा सांसदहरूलाई गठबन्धन भत्काउन उचालेको आरोपसमेत लगाए ।
‘आफूले दुई दुईपटक संसद् विघटन गर्नु सही थियो भन्ने पुष्टि गर्न एमालेले पाँचदलीय गठबन्धन भत्काएर संसद् नै विघटन गराउन खोजिरहेको छ’ उनको भनाइ थियो ।
‘एमसिसी संसद्मा टेबुल हुनु भनेको नै पास हुनु हो’ एमसीसी पारित हुने- नहुने भन्ने सवालमा सांसद पौडेलले भने– ‘त्यसकारण एमसीसी टेबल हुन नदिनु नै त्यसलाई रोक्ने एउटा उपाय हो ।’
एमसीसी सैन्य परियोजना नभएको तर्कलाई खण्डन गर्दै उनले भने– ‘एमसीसीमा अमेरिकी राष्ट्रिय सुरक्षा नीति विरुद्ध नजाने प्रावधान राखिनु नै अमेरिकी सैन्य क्याम्पमा सामेल हुनु हो ।’
उनले थपे– ‘कानुन बाझिएमा एमसीसीको कानुन मान्य हुनु भनेको नेपाली सार्वभौमसत्ता विरुद्धको कुरा हो ।’
सम्बोधनको क्रममा नेतृ पौडेलले एमसीसीको बारेमा यथार्थ कुरा नेपाली जनतामाझ लैजान आह्वान पनि गरे ।
सम्मेलनमा सम्बोधन गर्दै राजमो नेता आनन्द शर्माले अहिले राष्ट्रिय जनमोर्चा राष्ट्रियता, गणतन्त्र र धर्म निरपेक्षाताको रक्षा तथा सङ्घीयता र एमसीसीविरुद्धको मोर्चामा लडिरहेको बताए ।
जनआन्दोलनको उपलब्धी गणतन्त्र भएको र त्यसको रक्षा सम्पूर्ण प्रजातान्त्रिक शक्तिहरूको कार्यभार भएको बताए ।
‘प्रतिगमन कति भयावह हुन्छ ? त्यो २०१७ साल र २०१९ सालको प्रतिगमनलाई हेर्दा हुन्छ’ उहाँले अगाडि भन्नुभयो– ‘यी दुईपटक भएका प्रतिगमनलाई सच्याउन नेपाली जनताले कति लामो लडाइँ लड्नुप¥यो ? त्यो सबैलाई थाहा छ ।’ सम्बोधनको क्रममा उहाँले प्रतिगमनको खतरा अहिले पनि यथावत रहेको बताउँदै त्यसको विरुद्धमा पाँचदलीय गठबन्धनको औचित्य अहिले पनि रहेको बताए ।
उनले अहिले प्रतिगमन र एमसीसीविरुद्धमा राष्ट्रिय जनमोर्चाले एकल र संयुक्त रूपमा लडिरहेको प्रष्ट पार्नुभयो ।
‘संयुक्त आन्दोलनमा पनि समस्या छन्’ उहाँले भन्नुभयो– ‘कतिपय पार्टी तथा समूहले राष्ट्रियता पक्षधर आन्दोलनमा राजावादीलाई पनि सामेल गर्ने प्रस्ताव ल्याउँछन् ।’
उहाँले भन्नुभयो– ‘राजावादीहरू गणतन्त्र र धर्म निरपेक्षताको विरुद्ध भएकाले राष्ट्रियता पक्षधर आन्दोलन सामेल गर्न सकिन्न भन्ने नीतिमा हाम्रो पार्टी दृढ छ ।’ राजमो नेता शर्माले स्थानीय तहको चुनावका लागि आजैदेखि तयारीमा लाग्नुपर्ने आवश्यकतामा जोड दिए । उनले पाँचदलीय गठबन्धनको निरन्तरताप्रति शङ्का भएकाले एकल रूपमै चुनाव लड्ने मानसिकता बनाउन सबैलाई आग्रह गर्नुभयो ।
अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले एमसीसीतात्कालिक राजनीतिको धेरै नै जटिल समस्या बनेको बताए ।
अध्यक्ष मीना पुनले एमसीसीका कारण नेपालको राष्ट्रियता कमजोर बनेको पनि बताउनुभयो ।
सम्बोधनको क्रममा उहाँले नेपाली काङ्ग्रेससित खालि ५५ अरब रुपियाँमा राष्ट्रियता नबेच्न आग्रह गर्नुभयो ।
अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीले एमालेले राष्ट्रिय जनमोर्चा नेपाली काङ्ग्रेसको क्याम्पमा जाँदै छ भने भ्रम फिँजाइरहेकाले त्यसको प्रतिवाद गर्नुपर्ने आवश्यकतामा जोड दिए ।
तात्कालिक राजनीतिका वामपन्थी शक्ति एमालेले प्रतिगामी भूमिका खेलिरहेको तर गैरवामपन्थी शक्ति नेपाली काङ्ग्रेसले सकारात्मक भूमिका खेलेकाले ऊसित सहकार्य भएको तथ्यका साथ एमालेले फिँजाएको भ्रमलाई चिर्नुपर्ने बताए ।
उनले प्रतिगमन विरोधी मोर्चाको वैचारिक नेतृत्व राष्ट्रिय जनमोर्चाले गरिरहेको दाबी पनि गर्नुभयो ।
कार्यक्रममा जातीय समता समाजका महासचिव भक्त विक, अखिल नेपाल युवक सङ्घका केन्द्रीय सचिव डम्मर कार्की, अखिल (छैठौं) का पूर्व अध्यक्ष विमल पोखरेल, रक्तिम सांस्कृतिक अभियानकी मेस्मा पुन र प्रगतिशील लेखक सङ्घका केन्द्रीय सचिव प्रकाश थापामगरले पनि सम्बोधन गर्नुभएको थियो ।
उद्घाटन सत्रको कार्यक्रममा राजमो केन्द्रीय कोषाध्यक्ष मधु क्षेत्री, केन्द्रीय सदस्यहरू घनश्याम न्यौपाने, कल्याणी श्रेष्ठ, सुधा शर्मा, देवी शर्मा, केन्द्रीय सल्लाहकार नीलगोविन्द महर्जन, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का केन्द्रीय सदस्य प्रेम मोक्ता र युगदर्शन मिडियाका गोविन्दकुमार शर्माको पनि आतिथ्य रहेको थियो ।
वि.सं.२०७८ फागुन ७ शनिवार १८:४७

















