skip this farak Kura Pravakar

स्कुल नआएको भन्दै जब घरमै गएर शिक्षकले बालिका कुटे

कारबाहीको माग गर्दै विद्यालयमा तालाबन्दी

1.06K shares
oil-nigam-amlekhgunj-adv.jpeg

रूपन्देही-पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं ७ बर्गदवास्थित बर्दघाट कालिका बोर्डिङ स्कुलमा अध्ययनरत बालिकालाई विद्यालयका शिक्षक निरञ्जन यादवले निर्घात कुटपिट गरेपछि अभिभावक र स्थानीय आक्रोशित भएका छन् ।

शिक्षकको गतिविधिविरुद्ध स्थानी जनप्रतिनिधि, अभिभावहरू एकजुट भएर कारबाहीका लागि प्रहरीमा उजुरी दिएका छन्, भने विद्यालयमा तालाबन्दी गरेका छन् ।

कक्षा एकमा अध्ययनरत ९ वर्षीया कञ्चना राजभरलाई विद्यालयको सहायक प्रधानाध्यापक रहेका यादवले लौरोले पिठ्युँमा निर्घात कुटपिट गरेपछि बालिकाको शरीरमा रातो डाम (धब्बा) बसेको छ ।

बालिकाको घरमा गएर समेत विद्यालय किन नआएको भन्दै कुटपिट गरेका यादवले विद्यालय आएपछि लौरो र लात्तिले प्रहार गरेको अभिभावकले बताएका छन् ।

घटनापछि विद्यालयमा तालाबन्दी गरिदिएको वडाध्यक्ष हायात खाँ धुनियाँले जानकारी दिए । शिक्षक यादवले पटक पटक विद्यालयमा बालबालिकालाई कुटपिट गर्दै आएको स्थानीयले बताएका छन् ।

स्थानीय ओमप्रकाश ठाकुरले विद्यालयका बालबालिकाका कुट्ने काम शिक्षक यादवले पटक पटक गर्दै आएको बताएका छन् ।

पीडित बालिका राजभरलाई विद्यालय नआएको भन्दै घरमै कुटपिट गरेको र विद्यालय गएपछि पनि मरणासन्न हुने गरी कुटेको बालिकाले बताएकी छन् ।

उनी हिँड्न पनि नसक्ने अवस्थामा घर आएपछि बल्ल थाहा पाएको अभिभावकको भनाइ रहेको छ । ‘म आफन्तकोमा गएकी थिएँ, श्रीमान् पनि हुनुहुन्थिएन्, गाउँलेले भनेर थाहा पाएँ, सरले घरमै आएर छोरीलाई पिट्नुभएछ, अनि सम्झाएर स्कुल लगेर फेरि यादवले कोठा बन्द गरेर पिट्नुभएछ’, आमा गन्जला राजभरले भनिन् ।

छतमा लगेर कुटपिट गरेको र कुटपिटपछि बालिका तल्लो तलामा झर्नसमेत नसकेपछि साथीहरूको सहयोगमा झरेको बताएकी छन् । स्थानीयले कुटपिट गर्ने शिक्षकलाई कडा कारबाही गर्न माग गरेका छन् ।

जिल्ला प्रहरी कार्यालयमा पीडितले उजुरी दिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजीकुमार आचार्यले कुटपिट गर्ने विरुद्ध कारबाही प्रक्रिया अगाडि बढाउने बताए ।

अभद्र व्यवहारमा अभिभावकले उजुरी दिने तयारी गरेका छन्, सोहीअनुरूप प्रहरी अगाडि बढ्ने आचार्यले बताए ।

विद्यालयका प्रिन्सिपल जितेन्द्र कुमार यादवले भने विभिन्न बहाना बनाई कारबाही प्रक्रिया अगाडि नबढाउन भन्दै दबाबसमेत दिएका थिए । यस विषयमा जिज्ञासा राख्दा प्रिन्सिपल यादवले अहिले आफू व्यस्त रहेकोले पछि कुरा गर्ने जवाफ दिएका छन् ।

सरावल गाउँपालिका बालमैत्री पालिका बनाउने योजनाका साथ अगाडी बढिरहेको समयमा अबोध बालिकामाथि भएको कुटपिटको घटना गम्भीर भएको भन्दै सरोकारवालाहरूले दोषी माथि कारबाहीको माग गरेका छन् ।

jeetpursimara_10th_nagarsava_suchana
nijgadh-supermart-adz1200-630