skip this farak Kura Pravakar

निजगढमा वेवारिसे अवस्थामा गम्भीर घाइते युवक फेला, ट्रकको ठक्कर पुष्टि

444 shares
oil-nigam-amlekhgunj-adv.jpeg

बारा-बारा जिल्लाको निजगढ नगरपालिका–९ अन्तर्गत पूर्व–पश्चिम राजमार्गको भमरापुल नजिक वेवारिसे अवस्थामा एक युवक गम्भीर घाइते अवस्थामा फेला परेका छन्।

मिति २०८२ माघ ८ गते राति करिब १ः४५ बजे इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले सडकको दक्षिणतर्फ करिब १५–२० फिट तल कच्ची बाटोमा एक पुरुष गम्भीर घाइते अवस्थामा रहेको सूचना प्राप्त गरेपछि तत्काल उद्धार कार्य सुरु गरिएको प्रहरीले जनाएको छ।

घाइते व्यक्ति आफूलाई मुकेश चौधरी (उमेर करिब २५–२६ वर्ष) बताउने, रौतहटको गमहरिया घर भई बुवाको नाम धिरा धामी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको थियो। उनको बायाँ खुट्टाको घुँडामुनिको भाग नरहेको तथा दायाँ खुट्टाको घुँडामुनि गहिरो चोट लागेको अवस्थामा फेला परेका थिए। उनी हल्का मानसिक सन्तुलन ठिक नभएको जस्तो देखिने प्रहरीले जनाएको छ।

सूचना प्राप्त हुनासाथ प्रहरी निरीक्षक जीवन लामिछानेको कमाण्डमा ५ जनाको टोली घटनास्थलमा खटिएर घाइतेलाई उद्धार गरी प्रहरीको साथमा प्रादेशिक अस्पताल, कलैयामा उपचारका लागि पठाइएको थियो। त्यहाँ सामान्य उपचारपछि राति ३ः५० बजे नारायणी अस्पताल, वीरगञ्ज रिफर गरिएको थियो।

प्रारम्भमा घटना कसरी र कुन सवारी साधनको ठक्करबाट भएको भन्ने विषय एकिन हुन सकेको थिएन। सवारी साधनको खोजतलास, घाइतेका आफन्त पत्ता लगाउने तथा अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको थियो।

ट्रकको ठक्कर पुष्टि, चालक–सहचालक प्रहरी नियन्त्रणमा

थप अनुसन्धान तथा सिसिटिभी फुटेजको आधारमा मिति २०८२ माघ ९ गते उक्त घटनामा ना.८ ख ३९८५ नम्बरको ट्रक संलग्न रहेको पुष्टि भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न ट्रक चालक सर्लाही जिल्ला, मलंगवा नगरपालिका–४ बस्ने करिब ३० वर्षीय प्रमोद पण्डित कुमार र सहचालक बसवरिया गाउँपालिका–३, सर्लाही बस्ने करिब १९ वर्षीय राम छबिलाल साहलाई सोही दिन दिउँसो २ः४५ बजे इलाका प्रहरी कार्यालय निजगढमा झिकाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घाइते ट्रमा सेन्टर काठमाडौं रिफर

घाइतेको वास्तविक परिचय खुल्दै जाँदा उनी पर्सा जिल्ला, जिराभवानी गाउँपालिका–१ गमहरिया बस्ने धिरा धामीका छोरा करिब २०–२१ वर्षीय मुकेश धामी भएको खुलेको छ। प्रहरीले टेलिफोनमार्फत घाइतेका बुवालाई जानकारी गराएको थियो।

घाइतेलाई मिति २०८२ माघ ८ गते बिहान ८ः४५ बजे नारायणी अस्पताल वीरगञ्जबाट थप उपचारका लागि ट्रमा सेन्टर काठमाडौं रिफर गरिएको र सोही दिन दिउँसो १२ः३० बजे ट्रमा सेन्टर पुगेपछि उपचार भइरहेको प्रहरीले जनाएको छ। उपचार प्रक्रियामा उनका बुवा संलग्न रहेको जानकारी प्राप्त भएको छ।

घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ।

nijgadh-supermart-adz1200-630