फिल्मी शैलीमा रथ दुर्घटना : घटनास्थल पुग्यो सरकारी टोली, मृतक परिवारलाई आर्थिक सहयोग
वि.सं.२०७८ माघ ११ मंगलवार १२:५९

काठमाण्डौं : बाराको आदर्शकोतवाल गाउँपालिका वडा नं.३ मा बेहुला चढ्नका लागी तयार गरिएको रथले किचेर ज्यान गुमाएको घटनास्थलमा सरकारी टोली पुगेको छ ।
बेहुला चढ्ने रथले कुल्चिएर सोमबार साँझ दुई जनाको मृत्यु भएको छ भने १६ जना भन्दा बढी घाईते भएका छन् ।
घटनास्थलमा बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, नेपाली सेनाका कर्णेल भुपेन्द्र गोदार, जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक दिलिप सिंह देउवा, शसस्त्र प्रहरी बाराका शसस्त्र प्रहरी उपरीक्षक राजेन्द्र थापा, राष्ट्रिय अनुसन्धान बाराका उप अनुसन्धान अधिकृत सन्तोष ढुंगेल लगायत सहभागि थिए ।

टोलीमा सिम्रौनगढ नगरपालिकाका नगर प्रमुख बिजय शंकर यादव, नेपाली काङ्ग्रेस प्रदेश उपसभापति चन्द्र शेखर कुमार यादव लगायतले स्थलगत निरीक्षण गरेका थिए ।
टोलीले पीडित परिवारहरुलाई समवेदना दिदै घटनाबारे स्थानीयहरुबाट जानकारी लिइएको बाराका प्रमुख जिल्ला अधिकारी कटुवालले जानकारी दिए ।
आर्थिक सहयोग
मृतक परिवारलाई सिम्रौनगढ नगर प्रमुख विजय शंकर यादवले प्रतिपरिवार २५ हजार नगद सहयोग गरेका छन् । उनले घाइतेहरुको उपचारमा लाग्ने खर्च सहयोग गर्ने जनाए । स्थलगत निरीक्षणमा नेपाली कांग्रेसकोबाट आदर्श कोतवालका गाउँपालिका अध्यक्षका प्रत्यासी जवाहर प्रसाद साहले मृतक परिवारलाई जनही नगद २५ हजार सहयोग गरेका छन् ।

रथमा सवारको मृत्यु
ब्रम्हबाबाको पुजा सकेर जन्तीको तयारीका लागि हिडेको रथमा सवार उक्त दुर्घटनामा परी रथमा सवार बतराका बनारसी रामको १५ वर्षिया छोरी निलम कुमारी राम र सिम्रौनगढ नगरपालिका वडा नं.७ जानकीनगर टोलका दिपेन्द्र रामकी श्रीमती २५ वर्षिया बालकुमारी रामको मृत्यु भएको थियो ।
रथले मानव भीडलाई कुल्चिदै एक्कासी हुईकिएपछि १६ जना भन्दा बढी स्थानीय घाईते भएका छन् । जस मध्ये ७ जनाको अवस्था गम्भिर रहेको प्रहरीले बताएको छ ।

घाईते मध्ये ९ जनाको कलैयास्थित राज्यलक्ष्मी रिलिफ हस्पीटल प्राली र ७ जनाको वीरगञ्जस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिएका छन् ।
मृतकहरुको शव परिक्षणको लागी जिल्ला अस्पताल कलैयामा ल्याईएको डिएसपी थापाले जानकारी दिएका छन् ।
घटनामा आदर्श कोतवाल गाउँपालिका वडा नं.३ बतराका २४ वर्षिय अरविन्द राम, १८ वर्षिय सियाराम राम, १२ वर्षिय जितेन्द्र राम, १० वर्षिय अजित राम सहित ७ जनालाई न्यूरो अस्पतालमा उपचारको लागी भर्ना गरिएको उनले जानकारी दिए ।
दुर्घटनामा घाईते मध्ये १२ वर्षिया सान्झा कुमारी, ५० वर्षिय सयल देवी राम, १७ वर्षिया श्रीपति कुमारी, १३ वर्षिय सागर राम, १८ वर्षिय नरेन्द्र राम सहिँत ९ जनाको राज्यलक्ष्मी रिलिफ हस्पीटल प्राली कलैयामा उपचार भईरहेको डिएसी थापाले जानकारी दिए ।
आदर्श कोतवाल गाउँपालिका वडा नं.३ बतरा टोल बस्ने लक्षु राम महरा चमारको छोरा सियाराम महरा चमारको बिहेमा ल्याइएको मोटर रथ गाउँकै ब्रम्हस्थानमा पुजा गरी फर्किदै गर्दा उक्त दुर्घटना भएको थियो ।

चालक फेरिएपछि भड्कीयो
रथका चालक नभएको अवस्थामा स्थानीय युवाले मोटरसाईकलको चाँबीले रथ चलाउँदा दुर्घटना भएको प्रजिअ कटुवालले बताए । उनले अनुुसार लाइसेन्स नभएका १९ वर्षका युवकले रथ चलाएका थिए ।
टोलीले रथ धनी, चालक र युवाको परिवारलाई मृत परिवारलाई मृतक र घाइते परिवारको खर्च रकम व्यहोर्न भनेको छ ।
नम्बर प्लेट नभएको चार पाङ्ग्रे सवारीलाई रथ बनाएर बिहेवारीमा बेहुला बस्नको लागी ल्याईएको पाईएको छ ।
बिहेवारीमा नम्बर प्लेट नभएको रथलाई कानुन बमोजिम कारबाही हुने प्रजिअ कटुवालले बताए ।

रथ नजिकै रहेका सोही दुर्घटनामा परी घाईते भएका १८ वर्षिय नरेन्द्र रामले चालक फेरिए पछि रथको गति अनियन्त्रित भएको बताए ।
ब्रम्हस्थानबाट केही अगाडी बढेको रथको चालकको सिटमा अर्को मानिस बसेको केही बेरमै तिब्र गतिमा गुड्न सुरु भएको अस्पतालमा उपचाररत अवस्थामा रहेका रामले बताए । रथको अगाडी र छेउछाउमा रहेका सबै मानिस घाईते भएको उनले जानकारी दिए । ‘अगाडी रहेका सबै मानिसलाई कुल्चिदै अघि बढ्यो,’ उनले भने–केही पर रुखमा ठोकिएर पल्टियो ।

फिल्मी शैली
घटनामा घाइते भएका प्रत्यक्षदर्शीले रथ फिल्मी शैलीमा दौडिएको बताएका छन् । बाजोपट्टीकी मतिया देवी रामले फिल्ममा देखाएको सिन जस्तै रथले मानिसलाई कुल्चेको बताईन् । उनी जन्तीमा पाहुना बनेर आएकी थिईन् ।
रथमा सवार र रथको दायाँ, बायाँ, अगाडी रहेका सबै मानिस घाईते भएका उनले बताईन् । ‘सबै अंगभंग भएका छन् ।’ रथ चालकको बदमासीले ठुलो जनधनको क्षेती हुँने गरी दुर्घटना भएको उनले जानकारी दिईन् ।
‘रथले मानव भीडलाई अन्धाधुन्द रौंन्दे पछि गाउँमा भागदौड मच्चिएको थियो,’ उनले भनिन्–‘धेरै मा निस भागदौडको क्रममा पनि घाईते भएका छन् ।
घाईतेहरुको उपचारमा संलग्न राज्यलक्ष्मी रिलिफ हस्पीटल प्रालीका ईन्चार्ज समेत रहेका डा.ओमप्रकाश कुशवाहाले रथ दुर्घटनामा घाईते हुनेहरु मध्ये अधिकांशको टाउको, हाँतखुट्टा, निधार लगायतमा गम्भिर घाउचोट लागेको छ । भने धेरैको हातखुट्टा फ्याक्चर भएको जानकारी दिए ।
‘कलैयामा उपचार सम्भव भएका बिरामीलाई उपचार गरीरहेका छौं,’ उनले भने, ‘केही घाईतेको अप्रेशन गर्ने तयारी समेत गरेका छौं ।’ यहाँ उपचार सम्भव नभएका बिरामीलाई मात्र वीरगञ्ज रेफर गरिएको उनले जानकारी दिए ।
दुर्घटनामा घाईते भएकाहरु मध्ये अधिंकाश महिला तथा बालबालिका रहेको चिकित्सक कुशवाहाले जानकारी दिए । घाईतेहरुलाई राज्यलक्ष्मी रिलिफ हस्पीटल प्रालीका २ जना कन्सलटेन्ट सहित ६ जना विशेषज्ञ चिकित्सक तथा ३० जना स्वास्थ्यकर्मीहरु मिलेर उपचार गरेको कुशवाहाले जानकारी दिए ।
घाईतेहरुलाई आदर्श कोतवाल ईलाका प्रहरी कार्यालय, स्थानीय वासिन्दाको सहयोगमा घाईतेहरुको उद्दार गरी अस्पताल पुर्याईएको आदर्श कोतवाल गाउँपालिका ३ का वडाध्यक्ष विरेन्द्र यादवले जानकारी दिए ।
तस्वीरहरु : नुर आलम बादशाहा
यो पनि पढ्नुस्
https://faraknepal.com/9102
वि.सं.२०७८ माघ ११ मंगलवार १२:५९
















