‘ह्याट्रिक’सँगै जीतपुरसिमरा राष्ट्रपति रनिङ्ग शिल्डमाथि राष्ट्रिय विभूतीको कब्जा
कसको पदक कति ?
वि.सं.२०८१ पुस १ सोमवार ११:२४

बारा–उपाधिमा‘ह्याट्रिक’ गरेर जीतपुरसिमरा राष्ट्रपति रनिङ्ग शिल्डमाथि डुमरवानास्थित राष्ट्रिय विभूती सामुदायिक शिक्षा सदनले कब्जा जमाएको छ ।
दुई पटक लगातार प्रतियोगिताको उपाधि चुम्दै आएको विभूतीले चौथो संस्करणमा समेत ३० पदकसहित पहिलो भएसँगै जीतपुरसिमरा राष्ट्रपति रनिङ्ग शिल्डको मुल शिल्डमाथि कब्जा जमाएको हो ।

राष्ट्रपति रनिङ्ग शिल्ड सञ्चालनको चौथो संस्करणसम्म आईपुग्दा मुल शिल्ड सुरक्षित गर्ने पहिलो विद्यालय विभूती बनेको हो । प्रतियोगिताको दोस्रो संस्करणदेखि लगातार विभूती प्रथम हुँदै आएको छ । पहिलो संस्करण भने रजघट्टास्थित जनता माध्यमिक विद्यालयले जितेको थियो ।
शैक्षिक नतिजामा समेत उत्कृष्ट नतिजा दिदै आएको विभूतीले चौथो संस्करणमा अतिरित्त क्रियाकलापमा समेत अब्बल सावित गरिरहेको एकपछि अर्को नतिजाले देखाएको छ ।
राष्ट्रपति रनिङ्ग शिल्डमा विभूतीले १७ स्वर्ण, १० रजत र ३ कास्य पदक हात पारेको छ । त्यस्तै सिमरास्थित सेन्ट अल्फानसाले ८ स्वर्ण, ५ रजत र २ कास्य पदकसहित १९ पदक प्राप्त गरेर द्वितीय र पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय ५ स्वर्ण, २ रजत र २ कास्य पदकसहित १५ पदकसहित तृतीय भएको छ ।
पहिलो हुने विद्यालयले नगद २० हजार रुपैया, ट्रफी तथा प्रमाण पत्र र दोस्रो हुनेले १५ हजार रुपैया, ट्रफी तथा प्रमाण पत्र र तेस्रो हुनेले १० हजार रुपैया सहित ट्रफी तथा प्रमाण पत्र प्राप्त गरेको छ ।
मंसिर २६ गतेदेखि ३० गतेसम्म संचालन भएको प्रतियोगितामा १९ वटा निजी विद्यालयसहित उपमहानगरपालिकाका ३६ वटा विद्यालयका १ हजार दुई सय विद्यार्थी सहभागी थिए ।
प्रतियोगितामा भलिवल, कबड्डी, तेक्वाण्डो, कराँते, एथलेटिक्सका विभिन्न खेलमा विजयी ४ सय ९० विद्यार्थीलाई मेडल बितरण गरिएको आयोजक नेपाल राष्ट्रिय माध्यमिक विद्यालय औराहाका प्रधानध्यापक रामदत्त जोसीले बताए ।
मधेस प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री प्रमोद जयसवालले प्रतियोगिताका विजयी खेलाडी र विद्यालयहरुलाई ट्रफी, पदक तथा प्रमाण पत्र वितरण गरेका थिए ।

कार्यक्रममा संविधानसभा सदस्य जयराम दाहाल, प्रदेशसभा सदस्य देवनारायण चौधरी, जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख राजन पौडेल, पूर्व प्रदेशसभा सदस्य सुन्दर विश्वकर्मा, सीता गुरुङ्ग, नेपाल पत्रकार महासंघ बाराका सचिव पुष्पराज खतिवडा, कोषाध्यक्ष रंजन यादव लगायत सहभागी थिए ।
समापन कार्यक्रममा विद्यालयका प्रधानाध्यापकहरु, स्थानीय सामाजिक अगुवा, खेल प्रशिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन शिक्षक धनप्रसाद बजगाईले गरेका थिए ।
कसको पदक कति, यो हेर्नुस्

वि.सं.२०८१ पुस १ सोमवार ११:२४

















