सांसद अच्यूत मैनालीले गरे निजगढमा एकै दिन दुई वटा विद्यालय भवन शिलन्यास
वि.सं.२०८१ मंसिर ३० आइतवार १९:३९

बारा–बारा क्षेत्र नं. १ का प्रतिनिधि सभाका सांसद अच्यूत मैनालीले बाराको निजगढमा एकै दिन दुई वटा विद्यालय भवन शिलन्यास गरेका छन् ।
सांसद मैनालीको सिफारिसमा संघीय बजेटबाट बन्न लागेको विद्यालय भवनको धार्मिक विधि अनुसार पूजापाठ गरेर शिलान्यास गरिएको हो ।
निजगढ नगरपालिका वडा नं. १२ कोलगाँउस्थित सरस्वती आधारभूत विद्यालय र निजगढ–५ बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयमा एक तल्ले ४ कोठे पक्की भवन निर्माणको शुभारम्भ भएको हो ।
१० करोड बजेटमा क्षेत्र नं. १ मा ७ वटा विद्यालयमा भवन निर्माणका लागि सिफारिस गरेको सांसद मैनालीले जानकारी दिए । सिफारिस भएको मध्ये दुई वटा विद्यालय भवनको निर्माणको ठेक्का कुमार पोखरेलले पाएका छन् ।
यसैविच बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयमा आयोजित भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मैनालीले सांसदसँग जनताको विकासको अपेक्षा रहेको भन्दै कानून निर्माण र विकास निर्माणसँगै लैजानुपर्ने अवस्था रहेको बताएका थिए ।
निजगढ नगरपालिकाका मेयर सुरथ पुरीले निजगढलाई शैक्षिक हबका रुपमा विकास गर्न विद्यायमा शैक्षिक भवनको अभाव रहेको अवस्थामा नगरपालिकाको सिफारिसमा सांसद मैनालीले भवन निर्माणका लागि सिफारिस गरेर संघीय सरकारले बजेट विनियोजन गरि कार्य शुभारम्भ भएको जानकारी गराए ।
त्यस्तै निजगढ नगरपालिका उपमेयर सोममाया थिङ्गले शैक्षिक गुस्तरसँगै भौतिक संरचनामा समेत ध्यान दिनेगरि शैक्षिक सुधारको लागि समिति बनाएर अनुगमन भईरहेको जानकारी दिईन् । उनले अनुगमनका क्रममा कुन विद्यालयमा के आवश्यकता हुन्छ, त्यहि अनुसार बजेट छुट्याएर काम गर्ने योजना बनाईने बताईन् ।
यता बागदेवस्थित सार्वजनिक माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष दुर्गा गौतमले जिर्ण भवन विस्थापित गरेर प्राविधिक शिक्षालयको ल्याब बनाउन सहयोग पुग्ने भन्दै आगामी दिनमा समेत सहयोगको अपेक्षा गरेको बताए ।
त्यस्तै सरस्वती आधारभूत विद्यालयकी निमित्त प्रधानाध्यापक बुना कुमारी राउतले ट्रस्ट भवनमा विद्यालयका कक्षा सञ्चालन हुदै आएकोमा पहिलो पटक पक्की भवन निर्माण हुन लागेकोमा खुसी व्यक्त गरिन् । उनले गर्मीमा जस्ताको तातो र जाँडोमा चिसोमा कक्षा कोठामा पढ्नु पर्ने अवस्थाको अन्त्य गर्न भवन निर्माण भएपछि सहयोग पुग्ने बताईन् ।

वि.सं.२०८१ मंसिर ३० आइतवार १९:३९