निजगढको मली परिवारमा बज्रपात ! सुतेकै अवस्थामा हजुरआमा–नातीलाई सर्पले डस्यो, नातीको गयो ज्यान
वि.सं.२०८१ साउन २३ बुधवार १७:०७

बारा–बाराको निजगढ नगरमा सरसफाईकर्मीका रुपमा काम गर्दै आएका मली परिवारमा साउने सोमबारको दिनभरको रमझमका विच रातीको एउटा घटनाले सन्नाटा छाएको छ ।
मन्दिर गएर सोमबारको साँझ फर्केको मली परिवार निजगढ हाट बजारस्थित घरमा सुतेको अवस्थामा हजुरआमा सुनैनादेवीलाई सर्पले डसको भन्दै प्राथमिक स्वास्थ्य केन्द्र पु¥याईयो । सर्पले नै पाखुरामा डसेको पुष्टि भयो । त्यहाँ प्राथमिक उपचारपछि वीरगञ्जस्थित नारायणी प्रादेशिक अस्पतालमा भर्ना गराएर उपचार भईरहेको छ ।
राती नै उनको ९ वर्षिया नाती राहुल मलि छट्पटाउन थाले । मेलाको दिनभरको थकान ठानेर घरमा भएकाले पानी खुवाएर उनलाई सुताए । विहान ८ बजेसम्म राहुल नउठेपछि उठाउन जाँदा अचेत अवस्थामा देखे । उनलाई नजिकैको शिद्धार्थ मेडिकल लगियो । त्यहाँका स्वास्थ्यकर्मी लिला लामाले राहलको मृत्यु भईसकेको जानकारी गराए । हजुरआमा सुनैनाको उपचार समेत उनै लामा संलग्न थिए ।
राहुलको शव बोकेर मली परिवार वीरगञ्ज हानियो । हजुर आमाकै उपचार भईरहेको अस्पतालमा लगेर परीक्षण गर्दा सर्पले टाउकोमा डसेको भेटियो । अस्पतालबाट ल्याएर मंगलबार उनको अन्तिम दाहसंस्कार गरिएको छ । हजुरआमा सुनैनादेवीको भने स्वास्थ्यमा सुधार आएको छ ।
घटनाबारे ईलाका प्रहरी कार्यालय निजगढमा जानकारी गराईएको छैन । घरमा माईला छोरा राहुलको एक दाजु र दुई जना भाई–बहिनी छन् । उनी निजगढ–७ स्थित श्री सत्यश्वर शिव शक्ति आधारभूत विद्यालयमा युकेजीमा अध्ययनरत थिए ।

वि.सं.२०८१ साउन २३ बुधवार १७:०७