बारामा सत्ता गठबन्धन कसिलो बन्दै !
गठबन्धनका उम्मेदवारलाई सघाउन उम्मेदवारी फिर्ता
वि.सं.२०७९ वैशाख १७ शनिवार ०७:१७

बारा । बैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई सघाउन बाराको जीतपुरसिमरा र निजगढमा उम्मेदवारी फिर्ता भएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख र उपप्रमुख पदका लागि उम्मेदवारी दिएको जनता समाजवादी पार्टी नेपालले आफ्नो उम्मेदवारी फिर्ता लिएको छ ।
केन्द्रीय गठबन्धनको निर्णयलाई कार्यान्यवनमा ल्याउन भन्दै शुक्रवार बसेको पाँच दलीय गठबन्धनको बैठकपछि जसपाले उम्मेदवारी फिर्ता लिएको हो ।
बैठकले केन्द्रको निर्णय विपरित परेको उम्मेदवारी फिर्ता गर्नुपर्ने, वडा तहमा गठबन्धन हुन नसकेकाले स्वस्थ प्रतिस्पर्धा गर्ने, निर्वाचनपछि जसपा, एकिकृत समाजवादी र जनमोर्चाको एक–एक जनालाई कार्यपालिका सदस्यमा मनोनित गर्ने निर्णय गरेको थियो ।
बैठकको निर्णयअनुसार जसपाका नगर प्रमुख उम्मेदवार शर्मा, उपप्रमुख चित्ररेखा चौधरी, जनमोर्चाका नगर प्रमुख उम्मेदवार शेरबहादुर केसी, नगर उपप्रमुख उम्मेदवार देवी आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।
सत्ता गठबन्धनबाट माओवादी केन्द्रका राजन पौडेल मेयर पदमा र कांग्रेसकी मेघा शाहीको उपमेयर पदमा उम्मेदवारी परेको छ ।
त्यस्तैगरि नेकपा एमालेबाट सरस्वती चौधरी मेयर र भोलाप्रसाद अधिकारी उपमेयर पदमा उम्मेदवारी दिएका छन् ।
२०७४ सालको स्थानीय तह निर्वाचनमा मेयरमा एमालेका डा. कृष्ण कृष्ण पौडेल र उपमेयरमा सरस्वती चौधरीले जितेकी थिए ।
त्यसैगरि बाराको निजगढमा मेयर पदमा उम्मेदवारी दर्ता गराएको नेकपा एकिकृत समाजवादीका उम्मेदवारी फिर्ता लिएको घोषणा गरिएको छ ।
नेकपा (एकीकृत समाजवादी) निजगढ नगर अध्यक्ष भिम सापकोटाका अनुसार मेयर पदमा दिएको उम्मेदवारी गठबन्धन दलको मेयर सुरेश कुमार खनाललाई सघाउने गरि फिर्ता लिईएको छ । सो पार्टीबाट दिनेश शर्मा हुमागाँईले मेयर पदमा उम्मेदवारी दर्ता गराएका थिए ।
वि.सं.२०७९ वैशाख १७ शनिवार ०७:१७

















