नौ लाख नक्कली नेपाली रुपैयाँसहित तीन पक्राउ
वि.सं.२०७९ असोज २४ सोमवार २१:१८

बारा– बारामा नौ लाख नेपाली नक्कली रुपैयासहित तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारामा पत्रकार सम्मेलन गरी प्रहरीले पक्राउ परेका अभियुक्त र नक्कली नोट सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होविन्द्र बोगटीका अनुसार बाराको सिमावर्ती क्षेत्र सिम्रौनगढ नगरपालिका–५ कनकपुरबाट विशेष चेकजाँचका क्रममा एक भारतीय नागरिक सहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मुख्य योजनाकार भारतको मोतिहारी जिल्ला पिप्राकोटी बस्ने २५ वर्षिय रन्जित कुमार मुखिया, कलैया उपमहानगरपालिका–१५ का ३४ वर्षिय सैनुल्ला अन्सारी, सिम्रौनगढ नगरपालिका–२ का ३६ वर्षिया विनाका मुखिया बिन रहेका छन् ।
उनीहरुले भारतमा अत्याधुनिक प्रिन्टर मेसिनबाट फोटोकपी काजगमा छपाई गरी नेपाली बजारमा कारोबार गर्दै आएको स्वीकार गरेको प्रहरी उपरीक्षक बोगटीले बताए ।

पक्राउ परेका मुखिया एक वर्षअघि नक्कली नोटको कारोबारमा पक्राउ परी छुटेका थिए । उनले सञ्जाल निर्माण गरी प्रति ५ लाखमा १७ लाख नक्कली नोट विक्रि गर्ने गरेको पनि अनुसन्धानमा खुलेको छ ।
मुख्य योजनाकार मुखिया पक्राउ परेसंगै नक्कली नोटको कारोबारको सञ्जाल भत्काउन सफल भएको प्रहरी उपरीक्षक बोगटीको दाबी छ ।
वि.सं.२०७९ असोज २४ सोमवार २१:१८

















