राष्ट्रपतिमा पौडेल र नेम्वाङबीच कडा प्रतिस्पर्धा, कसको होला जित ?
वि.सं.२०७९ फागुन १४ आइतवार ११:१३

काठमाडौं । राष्ट्रपति पदका लागि नेकपा (एमालें ) का सुवासचन्द्र नेम्वाङ र नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलबिच कडा प्रतिस्पर्धा हुने भएको छ । शनिबार राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट वरिष्ठ नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, जनता समाजवादी पार्टीका नेता अशोककुमार राई र जनमत पार्टीका नेता अब्दुल खान छन् ।
यस्तै पौडेलको समर्थकमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्त ठाकुर, कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे थिए ।वरिष्ठ नेता पौडेल गत मङ्सिर ४ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट फराकिलो मतान्तरले विजयी भएर छैटौँ पटक संसद्मा प्रवेश गरेका थिए ।
त्यस्तै नेकपा (एमाले)का तर्फबाट यही फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले उम्मेदवारी दिएका छन् ।उनको प्रस्तावकमा अध्यक्ष ओली नेताहरू पृथ्वीसुब्बा गुरुङ, गोर्कणराज विष्ट, रघुवीर महासेठ र छविलाल विश्वकर्मा छन् । यसैगरी उनको समर्थकमा पार्टीका नेताहरू योगेशकुमार भट्टराई, टोपबहादुर रायमाझी, जुलीकुमारी महतो, दिलकुमारी रावल थापा र अमनकुमार मास्के रहेका छन् ।इलाम नगरपालिका–७ सुन्तलाबारीमा विसं २००९ फागुन २८ गते जन्मनुभएका नेम्वाङले अनेरास्ववियुबाट राजनीतिमा प्रवेश गरेका थिए । यहि फगुन २५ गते राष्ट्रपतिको निर्वाचन हुँदै छ ।
वि.सं.२०७९ फागुन १४ आइतवार ११:१३

















