skip this

एमालेबाट हेटौंडाको मेयर र उपमेयरमा ३/३ जना सिफारिश

3.05K shares
oil-nigam-amlekhgunj-adv.jpeg

हेटौंडा : नेकपा एमालेले हेटौंडा उपमहानगरपालिकाको मेयर र उपमेयरमा ३/३ जनाको नाम सिफारिश गरेको छ।

नेकपा एमालेको मंगलबार बसेको नगर कमिटी बैठकले मेयर र उपमेयरमा ३/३ जनाको नाम सिफारिश गरेको हो। एमालेबाट हेटौंडाका मेयर बन्न ९ जना र उपमेयर बन्न ७ जनाले आकांक्षा राखेका थिए। हेटौंडाको प्रमुख पदका लागि हरिबहादुर महत, रघुनाथ खुलाल, रामेश्वर राना, एकलाल श्रेष्ठ, अनन्त पौडेल, मदन दाहाल, ध्रुव चौलागाईं, विके महर्जन र गणेशकुमारी प्रधानले आकांक्षा राखेका थिए।

उपप्रमुखमा सुमित्रा काफ्ले, मेनुका दाहाल, सीता विष्ट, प्रतिमा श्रेष्ठ, आरती पाठक, रमिला सापकोटा र इन्द्र नेपाल आकांक्षी थिए। एमालेले मेयरमा आकांक्षा राखेका ९ जनाबाट ३ जनालाई छनोट गर्दै सिफारिश गरेको छ।

सिफारिश हुनेमा हेटौंडा उपमहानगरपालिकाको बहालवाला मेयर हरिबहादुर महत, संविधानसभा सदस्य अनन्त पौडेल र गणेशकुमारी श्रेष्ठ रहेका छन्। हालका बहालवाला मेयर महतले २०७४ को निर्वाचनमा गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई पराजित गरेका थिए।

२०७४ अघिका २ वटा निर्वाचनमा हेटौंडाको उपमेयरमा निर्वाचित भएर काम गरिसकेका उनी पछिल्लो निर्वाचनबाट एमालेबाट हेटौंडामा पुनः चुनाव जित्ने बलियो दावेदारसमेत रहेका छन्। ५ वर्षमा आफूले शुरु गरेका कामलाई पूर्णता दिन मेयरमा पुनः उठ्न चाहेको बताएका महतलाई गठबन्धनको जस्तोसुकै उम्मेदवारलाई पनि हराउन सक्ने सम्भावना बोकेका उम्मेदवारको रूपमा एमालेले लिएको छ।

मेयरको उम्मेदवारको लागि सिफारिश भएका पौडेल २०७० सालको निर्वाचनबाट संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। एमालेको मकवानपुरमा ‘हेभिवेट’ नेता रहेका पौडेल पनि आगामी निर्वाचनमा एमालेबाट मेयरको उम्मेदवार बन्न सक्ने बलियो दावेदार हुन्।

नगर कमिटीको मंगलबारको बैठकबाट सिफारिशमा परेकी गणेशकुमारी श्रेष्ठ एमालेकी पुरानी र ज्येष्ठ नेतृ हुन्। उनले २०३५ सालबाट चितवनमा हुँदा विद्यार्थी राजनीति शुरु गरेकी थिइन्। हालसम्म एमालेको मुख्य भूमिकामा नदेखिएकी उनी आगामी निर्वाचनमा पार्टीबाट मेयरको उम्मेदवार बनेर हेटौंडा हाँक्ने दाउमा छिन्। पार्टीले विश्वास गरेर आफूलाई उम्मेदवार बनाएमा हेटौंडाको जनभावनाअनुसार काम गर्ने उनी बताउँछिन्।

उपमेयरमा सुमित्रा काफ्ले, आरती पाठक र इन्द्रप्रसाद नेपालको नाम सिफारिश गर्ने निर्णय नगर कमिटीले गरेको छ। एमाले मकवानपुरका जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले नगरबाट सिफारिश भएर आएको उम्मेदवारको नामलाई आफूहरूले जिल्लामा सर्वसम्मत गराउने प्रयास गर्ने बताए।

सर्वसम्मत रूपमा उम्मेदवार सिफारिश सम्भव नभए सबैको नाम प्रदेश कमिटीमा सिफारिश गर्ने श्रेष्ठको भनाइ छ। उनका अनुसार उम्मेदवार छनोट तथा सिफारिशका लागि जिल्ला कमिटीको बैठक बुधबार बस्नेछ।

nijgadh-supermart-adz1200-630