उपराष्ट्रपति निर्वाचनः चार जनाको उम्मेदवारी दर्ता
वि.सं.२०७९ फागुन २७ शनिवार १४:३५

उपराष्ट्रपति निर्वाचनः चार जनाको उम्मेदवारी दर्ता
काठमाडौं, फगुन २७ गते । उपराष्ट्रपति पदमा सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक गरी चार जनाको उम्मेदवारी परेको छ । उपराष्ट्रपतिमा जनता समाजवादी पार्टी (जसपा)बाटै दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् ।संसदीय दलका नेता रामसहाय यादव र राष्ट्रिय सभा सदस्य प्रमिलाकुमारी यादवले उम्मेदवारी दर्ता गराएका हुन् ।
सत्ता गठबन्धनकातर्फबाट उपराष्ट्रपति पदमा जनता समाजवादी पार्टीकातर्फबाट रामसहायप्रसाद यादवको प्रस्तावकमा नेताहरु अशोक राई, प्रदीप यादव, शक्ति बस्नेत, किसान श्रेष्ठ र रमेशजङ्ग रायमाझी तथा समर्थकमा नेताहरु रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, डा खिमलाल देवकोटा र भानुभक्त जोशी छन् भने प्रमिलाकुमारी यादवको प्रस्तावकमा सांसदहरु रञ्जु झा, मृगेन्द्रकुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव छन् ।
त्यस्तै गठबन्धनका तर्फबाटबाट जनमत पार्टीकी ममता झाले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उनले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएकी हुन ।
नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदमा उम्मेदवारी दर्ता गराएकी छन् । नयाँ वानेश्वरस्थित संसद्भवनमा स्थापित निर्वाचन अधिकृतको कार्यालयमा उनले उपराष्ट्रपति पदमा आज उम्मेदवारी दर्ता गराएकी हुन ।
शाक्यका प्रस्तावक एमाले अध्यक्ष केपी शर्मा ओली, सुवासचन्द्र नेम्वाङ, छविलाल विश्वकर्मा, रघुवीर महासेठ र गोकर्ण विष्ट छन् । उनको उम्मेदवारीको समर्थकमा महेश बर्तौला, तुलसा दाहाल, कृष्णगोपाल श्रेष्ठ, भगवाती न्यौपाने र यशोदा रिजाल छन् । उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते हुँदैछ । उपराष्ट्रपति निर्वाचनका लागि आज बिहान ९ देखि दिउँसो २ बजेसम्मका लागि समय निर्धारण गरिएको छ ।चैत ३ गते हुने उपराष्ट्रपति निर्वाचनका लागि शनिबार चार जनाको उम्मेदवारी दर्ता भएको हो ।
वि.सं.२०७९ फागुन २७ शनिवार १४:३५

















